एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै : Icon Khabar

काठमाडौं, कार्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन्। खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटिएको थियो।

अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ। यता, करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाज भने यस सिजनको पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।

बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। साँझ ४:३० बजे सुरु हुने उक्त खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछन्।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ। कर्णाली आजको खेल जित्दै लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

अर्कोतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्स पहिलो खेलमा पोखरा एभेन्जर्ससँग ८ रनले पराजित भएको थियो। त्यसैले विराटनगर आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने र अंकतालिकामा आफ्नो खाता खोल्ने लक्ष्यमा हुनेछ।

दुवै खेलले टोलीहरूको प्रारम्भिक लय र प्रतियोगितामा अघि बढ्ने योजनालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Published Date: 29 October 2026