काठमाडौं, कार्तिक १२ । बिहीबार शेयर बजारमा वृद्धि भएको छ। अघिल्लो दिन बुधबार बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ३१.५४ अंकले बढेर २,६९५.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंकले बढेका छन्।
नेप्सेसँगै यस दिन शेयर कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस दिन ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर ६९ हजार ६१९ पटकको कारोबारमा खरिदबिक्री भएका छन्।
बिहीबारको कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो। यसअघि गत वैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिन बेनी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ८० रुपैयाँ ५० पैसाले बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य पनि ३.६५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
बिहीबार नेप्सेका सबै १३ उपसमूहको परिसूचक बढेका छन्। अन्य उपसमूह सबैभन्दा धेरै २.४५ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ र होटल तथा पर्यटन उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन् भने विकास बैंक र वित्त उपसमूह १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।
Published Date: 29 October 2026