यहि चैत १८ र १९ गते हुने भक्तपुर घरेलु उत्पादन मेला २०७९ का बारेमा प्रेम खर्बुजासँगको आइकन संवाद

यहि चैत १८ र १९ गते हुने भक्तपुर घरेलु उत्पादन मेला २०७९ का बारेमा प्रेम खर्बुजासँगको आइकन संवाद : Icon Khabar
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजा

भक्तपुर, चैत १६ । भक्तपुरको नासमना र तालाक्वमा यहि मिति २०७९ साल चैत १८ शनिबार र १९ गते आइतबार भक्तपुर घरेलु उत्पादन मेला २०७९ हुन लागेको छ। भक्तपुर नगरपालिका, भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले सो मेला आयोजना गर्न लागेको हो।

सोहि मेलाका बारेमा विस्तृत जानकारी लिन आइकन खबरले भक्तपुर घरेलु तथा साना उद्योग संघका वर्तमान अध्यक्ष प्रेम खर्बुजासँग गरेको आइकन संवाद यहाँ प्रस्तुत छ :

१. सर्वप्रथम भक्तपुर घरेलु तथा साना उद्योग संघको जानकारी दिनुहोस । संघको कार्य उद्देश्यबारे पनि केहि बताइदिनुहोस।

भक्तपुर घरेलु तथा साना उद्योग संघ भक्तपुरका निजी व्यवशायीहरुको छाता संगठनको रुपमा २०४७ सालमा स्थापना भएको संस्था हो । यस संघले लघु घरेलु तथा साना उद्योगलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गर्न, नविकरण गर्न, आयकर तिर्न तथा नेपाल सरकारले प्रदान गरिने विभिन्न सेवासुविधाबारे सदस्यहरुलाई जानकारी गराई सहजीकरण गर्ने संस्था हो।

साथै विभिन्न निकायसँगको सहकार्यमा तालिम, गोष्ठी, औद्योगिक अध्ययन, अवलोकन भ्रमण तथा मेला प्रदर्शनीको आयोजना एवं त्यस्ता मेला प्रदर्शनीहरुमा संघका सदस्यहरुलाई सहभागि गराउन यस संघले पहल गर्दै आएको छ।

२. भक्तपुर घरेलु उत्पादन मेला २०७९ को बारेमा जानकारी दिनुस न। मेलाको तयारि कस्तो छ ?

भक्तपुरमा रहेका लघु घरेलु तथा साना उद्योग जुन स्थानीय सिप श्रोत तथा कच्चा पदार्थबाट परम्परागत रुपमा संचालन रहेका उद्योगबाट उत्पादित बस्तु तथा सेवा बारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउने र ती उद्योगलाई पर्यटनसँग जोडी उद्योग व्यवसायको जिवन्तताको लागि यहि २०७९ चैत्र १८ र १९ गते स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धनको लागि भक्तपुर घरेलु उत्पादन मेला २०७९ को आयोजना हुन लागेको हो।

भक्तपुर नगरपालिका, भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा यो मेला संचालन हुनेछ ।
मेलाको तयारी स्वरुप भक्तपुर नगरपालिका, मेला हुने स्थान भक्तपुर नगरपालिका वडा नं ३ र ४ तथा ती वडाका स्थानीयसँग विषेश गरी स्थानीय आमा समुह, स्वयमसेवी समुह तथा दाफा भजन समुहसँग पटक पटक बैठक तथा छलफल गरी मेला सभ्य र भव्य रुपमा सम्पन गर्न लागि रहेका छौ ।

मेलाको तयारी लगभग अम्तिम चरणमै पुगिसकेको छ । मेला व्यवस्थापन मेलामा प्रदर्शन गरिने बस्तुहरु सास्कृतिक प्रस्तुती तथा नेवारी खाजा स्थल सवैको जिम्मेवार बाँडफाँड भई सकेको छ ।

३. कुन उद्देश्यले यस मेला आयोजना हुन लागेको छ ?

भक्तपुर एउटा कला सस्कृतिले धनी नगर हो । यहाँको ऐतिहासिक धरोहरलाई नजिकबाट नियाल्न धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु भक्तपुर घुम्न आउँदा भक्तपुरको कोसेली के लाग्ने भन्ने कुराको अन्यौल छ ।

तसर्थ यो मेलाले भक्तपुरमा उत्पादन हुने वस्तुबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिने, भक्तपुरका परम्परागत रुपमा संचालनमा रहेको लघु घरेलु तथा साना उद्योगलाई पर्यटनसँग जोड्ने यो मेलाको मुख्य उद्देश्य रहेको छ ।

४. पछिल्लो समयमा हाम्रै जिल्लामा घरेलु उत्पादनहरु कम हुदै आएको र व्यवसायीहरुमा यस प्रतिको आकर्षण कम हुदै गएको भन्ने कुरा छ। तपाईले के पाउनुभएको छ ?

निश्चय नै यो कुरामा हामी पनि समर्थन गर्छु । यसको मुख्य कारण कच्चा पर्दाथको अभाव, दक्ष कामदारको अभाव तथा प्रविधि मैत्री नुहनुका साथै भक्तपुरका अधिकांस उद्योगहरु बस्ती बीचमै संचालन गरिरेहको हुँदा बाटोघाटोको समस्या, खानेपानीको समस्या आदिका कारण लघु घरेलु उद्योग प्रति आकर्षण कम भएको देखिन्छ ।

साथै नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेपछि यहाँ उत्पादन गरेको सामान भन्दा आयातित बस्तु सस्तो हुँदा व्यापार घाटा भएको कारण यस्ता उद्योगप्रति आकर्षण कम भएको देखिन्छ ।

५. घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको लागि नेपालमा बजार कस्तो छ र विदेशमा निर्यात गर्ने सम्भावना कस्तो पाउनुभएको छ ?

घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको नेपालमा बजार राम्रो छ । यहाँका हस्तकला, काष्ठकला लगायत जुजु धौ, लोकल ताईचिन चिउराको माग अझैपनि कम भएको छैन।

साथै यहाँका हस्तकलत, काष्ठकला लगायत चिउराहरु विदेश निर्यात पनि भईरहेको छ । तर विभिन्न झन्झटिलो प्रक्रियाका कारण उद्यमी स्वयमले निर्यात नगरी विचौलिया मार्फत विदेश निर्यात भईरहेको छ ।

६. यस मेलामा कस्ता खालका उत्पादनहरु प्रस्तुत गर्दै हुनुहुन्छ ? मुख्य आकर्षणहरु के के हुनेछन ?

यो मेला विशुद्ध भक्तपुरमा उत्पादन भएका भक्तपुरका उद्यमीले तयार पारेका सामानहरु मात्र हुनेछ । विषेश गरी भक्तपुर नगरपालिकाको मौलिक उत्पादन भनि परिभाषित गरेका जुजु धौ, भादगाउँले टोपी, ताईचिन चिउरा, हाकु पटासी, घरबुना कपडा हुनेछन्।

यसका साथै विगत ३ बर्ष अघि भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको अध्ययनबाट भक्तपुरमा उत्पादन हुने मौलिक उत्पादन भनि परिभाषित गरेका १५ वटा उत्पादनहरु यस मेलामा हुनेछ भने मेलाको आकर्षणको रुपमा प्रत्यक्ष उगलबाट चिउरा कुटेको, तान बुनाई, ऐला बनाउँदै गरेको गलैचा बुनाई अनि खानामा नेवारी खाजा योमरी, चतामारी, बारा हुनेछ ।

७. यस मेलाको अवलोकन गर्न जनसमुदायको उपस्थिति कस्तो रहने आकलन गर्नुभएको छ ? भक्तपुर बाहेक कुन कुन ठाउँबाट मेलामा सहभागिता हुने आशा छ ?

१८ गते भक्तपुरको जेला टोलबाट बिहान १० बजे प्रभात फेरी गरी नासमनामा उद्घाटन सत्र हुनेछ । दिउँसो नासमना डबलीमा साँस्कृतिक झाँकीहरु देखाउने छ भने सोही दिन बेलुकी दिपावली गर्नेछ ।

१९ गते बिहान १० बजेदेखि मेला शुरु भई साँझ पुन: विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछ भने बेलुकी सम्पदा पद यात्रा गरी तालाक्वमा कार्यक्रम समापन हुनेछ ।

८. यस मेलाको अवलोकन गर्न जनसमुदायको उपस्थिति कस्तो रहने आकलन गर्नुभएको छ ? भक्तपुर बाहेक कुन कुन ठाउँबाट मेलामा सहभागिता हुने आशा छ ?

भक्तपुर एक पर्यटकका लागि आकर्षणको केन्द्र भएको कारण यहाँ स्थानीय समुदाय आन्तरिक एव बाह्य पर्यटकको उपस्थिति राम्रो हुने अनुमान गरेको छ ।

९. अन्तिममा सम्पूर्णमाझ यहाँको संदेश के छ ?

सम्पुर्णमा चैत्र १८ र १९ गते हुने मेला अवलोकनको लागि अनुरोध गर्दछु । विश्वभर फेरी कोरोना भाईरसको माहामरी फैलिरहेको कुरा पनि सन्न आएको कारण मेला अवलोकन गर्न आउँदा सकेसम्म सुरक्षा उपायहरु अपनाउनुहुन पनि अनुरोध गर्दछु र साथै मेलालाई लघु घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको अवलोकन गरि सामानहरु खरिद गरिदिनु हुन पनि अनुरोध गर्दछु ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Kiran Suwal
किरण सुवाल
+ posts