मिटर ब्याजीबाट पीडित किसानको समस्या समाधान गर्न सरकारद्वारा पहल

मिटर ब्याजीबाट पीडित किसानको समस्या समाधान गर्न सरकारद्वारा पहल : Icon Khabar

काठमाडौं, चैत १० । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

सोही निर्देशन बमोजिम मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले किसानहरुसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्धा पनि चलाईरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आग्रह गरेका थिए । सिडिओ पाण्डेसँगको छलफलमा पीडित किसानहरुले आफूहरु एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताएका थिए ।

किसानहरुले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न र सवारीको प्रवन्ध मिलाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानहरुलाई कम्बलको व्यवस्था गरेका थिए।

पीडित किसानहरुको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री प्रेस संयोजक शर्माले बताए । सरकारले ३ सय ५० जना मिटर ब्याजीहरुलाई कारबाही नै गरिसकेको प्रेस संयोजक शर्माको भनाई छ ।

‘आज मात्रै पनि प्रधानमन्त्रीले कानून सचिवलाई कानूनलाई प्रस्तावको रुपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts