म्यानचेस्टर सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा, हालान्डले गरे ५ गोल

म्यानचेस्टर सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा, हालान्डले गरे ५ गोल : Icon Khabar

काठमाडौं, चैत १ । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को भारी अन्तरले तथा समग्रमा ८–१ को फराकिलो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपनि सिटीले दोस्रो लेगमा ७–० को एकपक्षीय जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा सिटीको एकपक्षीय जितमा हालान्डले ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि समान एक गोल गरे ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बेन्जामिन हेनरिचले पेनाल्टी बक्सभित्र ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् ।

त्यसको दुई मिनेटपछि नै हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

हालान्ड र सिटी यतिमै रोकिएन । लगातार गोल थपिरह्यो । ४९औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । ५३औं मिनेटमा हालान्डले म्यानुएल एकान्जीको पासमा व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे ।

५७औं मिनेटमा हालान्डले एकान्जीकै पासमा व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई ७–० को सानदार जित दिलाए ।

लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी बनेका छन् । यस्तै उनी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।

२२ वर्षीय हालान्डले यो सिजन सबै प्रतियोगितामा ३९ गोल गरिसकेका छन् । सिटीबाट एकै सिजन यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी पनि बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2023
Website | + posts