नेपालमा चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर बिहीबारदेखि देखिने, शुक्रबार र शनिबार बढी असर देखिने

नेपालमा चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर बिहीबारदेखि देखिने, शुक्रबार र शनिबार बढी असर देखिने : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कात्तिक १२ गते बिहीबार रातिदेखि भने बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर पर्नेछ । त्यसको संकेत भने आजबाटै देखिन थाल्नेछ ।

आज कात्तिक ११ गते बुधबारको दिन कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१२ गते बिहीबारबाट भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार भने नेपालमा तुलनात्मक रुपमा बढी असर देखिने छ । शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात पनि हुन सक्ने बरिष्ठ मौसमविद विभूति पोखरेलले बताइन् ।

चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुने पूर्वानुमान मौसमविदले गरेका छन् । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन् ।

Published Date: 28 October 2026