नेपाली यू२० टोली स्वदेश फर्कियो

नेपाली यू२० टोली स्वदेश फर्कियो : Icon Khabar

भक्तपुर, फागुन ३० । एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली यू२० टोली मंगलबार बिहान स्वदेश आइपुगेको छ ।

नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।

नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० ले पराजित गर्दा नर्दन मारियाना आइल्याण्डमाथि ६–० कै जित निकाल्दै दोस्रो चरणमा छनोट हुन सफल भएको थियो ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । प्यालेस्टाइन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा नर्दन मारियाना आइल्यान्ड अंकविहीन हुँदै पुछारमा रह्यो । यो समूहबाट संयुक्त अरब इमिरेट्स (युएईं) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।

छनोटमा नेपाली दीपा शाहीले ६ तथा गरिमा राईले दुई गोल गरिन् । यस्तै सारा बज्राचार्य, सरस्वत हमाल, प्रिती राई र जेनिफर राणाले समान एक गोल गरिन् ।

पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

दोस्रो राउन्डका खेलहरु ३ देखि ११ जुनसम्म हुनेछ । पहिलो चरणबाट चीन, नेपाल, अष्ट्रेलिया, लेवनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान छनोट हुन सफल भएको छ । पोट १ मा अष्ट्रेलिया र चीन, पोट २ मा भियतनाम र म्यानमार, पोट ३ मा इरान र नेपाल तथा पोट ४ मा लेवनान र चाइनिज ताइपेइ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts