युनिटी इङ्ग्लिस स्कुलमा नेशनल प्याब्सन जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

युनिटी इङ्ग्लिस स्कुलमा नेशनल प्याब्सन जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, भाद्र २९ ।  युनिटी इङ्ग्लिस स्कुलको आयोजनामा नेशनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तरविद्यालय सामूहिक तथा एकल लोक नृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

प्रतियोगिता सामूहिक र एकल गरी दुई विधामा सञ्चालन गरिएको थियो। प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली लोककला, संस्कृति, परम्परा र मौलिकतालाई झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुमान्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका–५, कटुञ्जेका वडा अध्यक्ष राजकुमार जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले प्रतियोगिताले विद्यार्थीको कला, सीप र संस्कारलाई नृत्यमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताए।

त्यसैगरी, नेशनल प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार जी.बी. खड्काले युनिटी इङ्ग्लिस स्कुलको आयोजनामा भएको प्रतियोगिताले नेशनल प्याब्सन भक्तपुरअन्तर्गतका विद्यालयबीच एकता र सहकार्यको सन्देश दिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थी मात्र नभई विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूमा समेत उत्साह र उमंग थप्ने उनको भनाइ थियो।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिताको व्यवस्थापकीय पक्ष सबल रहेको भन्दै आयोजकप्रति आभार व्यक्त गरे। उनले नेशनल प्याब्सन भक्तपुरका आगामी बोर्डस्तरीय कार्यक्रमहरूलाई पनि सबै विद्यालयको सहकार्यमा अझ व्यवस्थित र उत्कृष्ट ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

विद्यालयका प्रधानाध्यापक बिपिन गुमान्जुले प्रतियोगितालाई केवल जित–हारको प्रतिस्पर्धाका रूपमा नभई कला, सिर्जना र अनुशासनको अभ्यासका रूपमा लिनुपर्ने बताए। उनले प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सहयोग गर्ने निर्णायक तथा बोर्ड सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे।

प्रतियोगिताको सामूहिक लोक नृत्यतर्फ इडेन गार्डेन स्कुल प्रथम, बिमल मेमोरियल विद्यापीठ द्वितीय, पाथिभरा एकेडेमी तृतीय र प्रसादी पाठशाला सान्त्वना भएका छन्।

त्यस्तै, एकल लोक नृत्यतर्फ पनि इडेन गार्डेन स्कुल प्रथम भएको छ। प्रसादी पाठशाला द्वितीय, मदरल्याण्ड स्कुल तृतीय र क्वालिटी स्कुल सान्त्वना भएका छन्।

प्रतियोगिताले विद्यार्थीमा रहेको नृत्य प्रतिभालाई उजागर गर्नुका साथै नेपाली मौलिक लोककला, संस्कृति, परम्परा र सिर्जनात्मक प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Published Date: 14 September 2026