भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?

भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ? : Icon Khabar

भक्तपुर, भदौ १ । ऐतिहासिक तथा पुरातात्विक सम्पदाले भरिपूर्ण भक्तपुरका संवेदनशील क्षेत्रमा पछिल्लो समय जथाभावी रूपमा ड्रोन उडाउने क्रम बढ्दै गएपछि सुरक्षा, गोपनीयता र सम्पदाको संरक्षणमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

भक्तपुर दरबार क्षेत्रलगायत नगरका विभिन्न संवेदनशील स्थानमा विशेष अवसर, जात्रा, सांस्कृतिक कार्यक्रम तथा निजी समारोहका क्रममा ड्रोन उडाउने गरिएको देखिए पनि ड्रोन उडाउनुअघि आवश्यक अनुमति लिइएको छ कि छैन, अनुमति कसले दिएको हो र कुन सुरक्षा मापदण्डका आधारमा उडान स्वीकृत गरिएको हो? भन्ने विषय स्पष्ट हुन सकेको छैन।

विशेषगरी गाईजात्रा, बिस्का जात्रा, विभिन्न धार्मिक तथा सांस्कृतिक जात्रा, विवाहका जन्ती तथा सार्वजनिक समारोहमा समेत ड्रोन उडाउने होड बढ्दै गएको देखिन्छ। भीडभाडयुक्त स्थानमा आकाशबाट ड्रोन उडाउँदा मानिसको व्यक्तिगत गोपनीयता प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

त्यसैगरी, ऐतिहासिक तथा संवेदनशील सम्पदा क्षेत्रको हवाई दृश्य खिच्ने नाममा सम्पदा, सुरक्षा संरचना तथा संवेदनशील गतिविधिको अनधिकृत दृश्य संकलन भइरहेको छ कि छैन? भन्ने प्रश्नसमेत उठेको छ।

ड्रोन प्रविधि सूचना, सञ्चार, पर्यटन, चलचित्र तथा अनुसन्धानका लागि उपयोगी भए पनि यसको प्रयोग निश्चित नियम, सुरक्षा मापदण्ड र सम्बन्धित निकायको अनुमतिअनुसार हुनुपर्ने देखिन्छ। विशेषगरी सुरक्षा संवेदनशील, भीडभाडयुक्त तथा सम्पदा क्षेत्रमा ड्रोन सञ्चालन गर्दा थप सावधानी आवश्यक हुन्छ।

तर पछिल्ला गतिविधिले भने ‘जसले जे गर्दा पनि हुने, कसैको अनुमति लिनु नपर्ने’ मानसिकता बढ्दै गएको हो कि? भन्ने प्रश्न जन्माएको छ।

यस विषयमा स्थानीय प्रशासन, सुरक्षा निकाय, सम्बन्धित पालिका तथा सम्पदा संरक्षणसँग जोडिएका निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ। भक्तपुर दरबार क्षेत्रलगायत संवेदनशील स्थानमा ड्रोन उडाउने अनुमति कसले दिन्छ? अनुमति दिनुअघि के–कस्ता सुरक्षा मापदण्ड पूरा गरिन्छ? अनुमति नलिई ड्रोन उडाएमा कारबाहीको व्यवस्था के छ? भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिन जरुरी छ।

विशेषगरी जात्रा तथा सार्वजनिक कार्यक्रममा ड्रोन उडानलाई व्यवस्थित गर्न पूर्वस्वीकृति, उडान क्षेत्र निर्धारण, समयसीमा, अपरेटरको विवरण, सुरक्षा समन्वय र गोपनीयताको संरक्षण जस्ता विषयमा स्पष्ट व्यवस्था र प्रभावकारी अनुगमन आवश्यक देखिन्छ।

प्रविधिको प्रयोग रोक्नेभन्दा पनि कानुन र जिम्मेवारीको दायराभित्र राखेर प्रयोग गराउने नीति आवश्यक छ। अन्यथा ‘ड्रोन उडाउने होड’ले हाम्रो सुरक्षा, नागरिकको गोपनीयता र विश्वसम्पदासहितका संवेदनशील सम्पदाको सुरक्षामाथि नै गम्भीर प्रश्नचिह्न खडा गर्न सक्नेछ।

Published Date: 16 August 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली