शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न

शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ १ । नेपाली सुगम संगीतका लोकप्रिय गायक तथा संगीतकर्मी स्वर्गीय अरुण थापाको २७औँ स्मृति वर्षको अवसरमा भक्तपुरमा आयोजित विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

भक्तपुर सांगीतिक समाजको आयोजनामा शनिबार भक्तपुर–१, श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा सम्पन्न कार्यक्रममा सयौँ संगीतप्रेमी, कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। दर्शकको बाक्लो उपस्थितिका कारण कार्यक्रमस्थलको सभाहल भरिभराउ बनेको थियो।

कार्यक्रममा स्वर्गीय अरुण थापाका कालजयी गीत तथा संगीत प्रस्तुत गर्दै उनको सांगीतिक योगदानको स्मरण गरिएको थियो। उनका लोकप्रिय सिर्जनाको प्रस्तुतिले उपस्थित दर्शकलाई उनको सांगीतिक यात्राको स्मरण गराएको थियो।

कार्यक्रमको सभापतित्व भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले गरेका थिए भने वरिष्ठ गायक प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा मोडर्न स्कुल तथा कलेजका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल, हिसान भक्तपुरका अध्यक्ष डा. अनिल कसपाल, प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपाल, गीतकार संघका अध्यक्ष वसन्त विद्याधारी थापा, वरिष्ठ संगीतकार राजु सिंह तथा समाजका सल्लाहकार ध्रुव मधिकर्मीलगायत संगीत तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा अरुण थापाका ‘जति माया लाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘आँखाको निन्द खोसिलाने’ र ‘चोट के हो, व्यथा के हो’ लगायत लोकप्रिय गीतहरू प्रस्तुत गरिएका थिए। गीत प्रस्तुत भइरहँदा सभाहलमा उपस्थित दर्शकले उत्साहपूर्वक साथ दिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य भक्तपुर सांगीतिक समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक शशी कायस्थले दिएकी थिइन्। समाजले आगामी दिनमा पनि नेपाली संगीतका अग्रज स्रष्टाहरूको योगदानको स्मरण गर्दै यस्ता सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

कार्यक्रमले अरुण थापाको कालजयी सांगीतिक सिर्जना र योगदानलाई नयाँ पुस्तामाझ पुर्‍याउनुका साथै भक्तपुरको सांगीतिक वातावरणलाई थप सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

Published Date: 16 August 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली