हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित

हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित : Icon Khabar

भक्तपुर, भदौ १ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) भक्तपुरले राष्ट्रिय परीक्षा बोर्डबाट २०८३ मा सन्चालित कक्षा १२ को परीक्षाको नतिजामा ३.६ जीपीए वा सोभन्दा माथि प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै संस्थाको विकास, विस्तार तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका पूर्वपदाधिकारी तथा व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

हिसान भक्तपुरका अध्यक्ष डा. अनिल कस्पालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय समितिका अध्यक्ष युवराज शर्मा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष प्रा.डा. स्वागत श्रेष्ठ, उपाध्यक्ष वीरेन्द्र जयना, महासचिव रामहरि सिलवाल, प्याब्सन अध्यक्ष राजन कसपाल, एन प्याब्सनका अघ्यक्ष संजय खड्का, प्याब्सन चॅांगु नारायण अघ्यक्ष टंक सिटौला, प्याब्सन सूर्यविनायकका अघ्यक्ष विनोद काफ्ले लगायतको सहभागिता थियो।

कार्यक्रममा हिसान भक्तपुरका पूर्वउपाध्यक्ष रविप्रसाद आचार्य, पूर्वअध्यक्ष शिवकृष्ण श्रेष्ठ र पूर्वअध्यक्ष केदार खड्कालाई उहॅांहरूका अमूल्य योगदानको कदर गर्दै दासल्ला ओडाएर प्रशंसापत्र प्रदान गरिएको थियो । प्रमाणपत्रमा हिसानको संस्थागत विकास, विस्तार तथा सुदृढीकरणमा उनीहरूले पुर्‍याएको अथक मेहनत, समर्पण, निष्ठा र महत्वपूर्ण योगदानको उच्च कदर गरिएको उल्लेख छ। संस्थाको उद्देश्य तथा हितप्रति देखाएको निरन्तर प्रतिबद्धता, जिम्मेवार भूमिका र सकारात्मक नेतृत्वको समेत प्रशंसा गरिएको छ।

प्रशंसापत्रमा शिक्षाक्षेत्रको विकास र संस्थाको प्रतिष्ठा अभिवृद्धिका लागि उहॅांहरूले गरेको निःस्वार्थ सेवा, अमूल्य योगदान तथा समर्पित प्रयास आगामी पुस्ताका लागि प्रेरणादायी रहने विश्वास व्यक्त गरिएको छ।

यसैगरी, हिसान भक्तपुरका अध्यक्ष डा. अनिल कसपाललाई मलेसियाको लिंकन विश्वविद्यालयबाट विद्यालय नेतृत्व (School Leadership) विषयमा विद्यावारिधि (PhD) उपाधि हासिल गरेको अवसरमा विशेष सम्मान तथा बधाई दिइएको छ। सम्मानपत्रमा उहॅांको शिक्षाक्षेत्रप्रतिको निरन्तर समर्पण, अध्ययनप्रतिको लगाव, नेतृत्व क्षमता तथा ज्ञानप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको छ।विद्यालय नेतृत्वको क्षेत्रमा हासिल गरेको उक्त उच्च शैक्षिक उपलब्धिले व्यक्तिगत गौरवसँगै हिसान भक्तपुर तथा समग्र शैक्षिक क्षेत्रको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको उल्लेख सम्मानपत्रमा गरिएको छ। डा. कसपालको मेहनत, दृढ इच्छाशक्ति र निरन्तर प्रयास आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वाससमेत व्यक्त गरिएको छ।

कार्यक्रममा हिसान भक्तपुरका पूर्वउपाध्यक्ष स्वर्गीय डा. बच्चुराम खत्रीलाई मरणोपरान्त सम्मान गरिएको छ। सम्मानपत्रमा हिसानको संस्थागत विकास, विस्तार र सुदृढीकरणमा उहॅांले पुर्‍याएको योगदान, समर्पित सेवा तथा संस्थाको उद्देश्यप्रतिको प्रतिबद्धताको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

Published Date: 16 August 2026