काठमाडौँ, साउन २० । भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावत को ७४ वर्षको उमेरमा रक्त क्यान्सरसँग लामो संघर्षपछि मंगलबार साँझ निधन भएको छ। उनको निधनको पुष्टि उनका व्यवसायिक प्रबन्धकले गरेका छन्। केही वर्षअघि उपचारपछि स्वास्थ्यमा सुधार आए पनि पछिल्लो डेढ महिनायता क्यान्सर पुनः बल्झिएपछि उनी अस्पतालमा भर्ना भएका थिए।
प्रदीप रावत बलिउडका ‘गजनी’, ‘लगान’, ‘सरफरोश’ लगायतका चलचित्रमा निभाएका शक्तिशाली खलनायक पात्रका कारण विशेष परिचित थिए। उनले बी.आर. चोप्राको चर्चित टेलिभिजन शृंखला ‘महाभारत’ मा अश्वत्थामा को भूमिकाबाट पनि ठूलो लोकप्रियता कमाएका थिए।
भारतीय चलचित्रमा मात्र होइन, प्रदीप रावतले नेपाली चलचित्र मा पनि अभिनय गरेका थिए। उनी ‘ह्रस्व दीर्घ (Hrashwo Deergha)’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए भने हालैको नेपाली चलचित्र ‘आ बाट आमा’ मा पनि अभिनय गरेका थिए। यसले उनलाई नेपाली दर्शकमाझ पनि परिचित बनाएको थियो।उनको निधनसँगै भारतका साथै नेपालका चलचित्रकर्मी र प्रशंसकले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। धेरैले उनलाई पर्दामा खलनायक भए पनि वास्तविक जीवनमा सरल, अनुशासित र समर्पित कलाकारका रूपमा सम्झिएका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा प्रदीप रावतले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, भोजपुरी र नेपाली चलचित्रमा समेत अभिनय गर्दै भारतीय उपमहाद्वीपको बहुभाषिक चलचित्र क्षेत्रमा विशेष पहिचान बनाएका थिए। उनको निधनसँगै दक्षिण एसियाली चलचित्र जगतले एक अनुभवी कलाकार गुमाएको छ।
Published Date: 05 August 2026