काठमाडौं, साउन १८ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। गत शुक्रबार सकारात्मक लयमा रहेको बजार सोमबार भने हल्का करेक्सनसहित बन्द भएको हो।
सोमबार नेप्से परिसूचक १.२० अंकले घट्दै २,६८४.३३ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले वृद्धि भएका छन्।
परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३४९ वटा स्टकको ६३ हजार ६४८ पटक कारोबार हुँदा कुल १ करोड १४ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ। यसबाट ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा उल्लेख्य वृद्धि हो।
Published Date: 03 August 2026