काठमाडौं, साउन १७ । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ।
नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। यो रकम नेपाली रुपैयाँमा करिब ३० लाख रुपैयाँसम्म पर्न सक्छ।
यसअघि परीक्षणका क्रममा ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी तोक्न सकिने व्यवस्था थियो। नयाँ नियममा भने ५ हजार डलरको विकल्प हटाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार अमेरिका छाडेमा धरौटी रकम फिर्ता गरिनेछ।
अमेरिकाले भिसा ओभरस्टे नियन्त्रण गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएको छ। नेपालसँगै दक्षिण एसियाका बंगलादेश र भुटान पनि यो सूचीमा परेका छन्।
Published Date: 02 August 2026