बैंककको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते

बैंककको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते : Icon Khabar

काठमाडौँ, असार २९ । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।

एसोसिएटेड प्रेस (एपी)का अनुसार बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडफ्राओ पबमा राति करिब १२ बजे आगलागी भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पबबाट आगोको ठूलो मुस्लो र बाक्लो कालो धुवाँ निस्किएको तथा ज्यान बचाउन मानिसहरू भागदौड गरिरहेको देखिन्छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल घटनास्थल पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रधानमन्त्रीका अनुसार घटनाका बेला पबमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले स्टेज नजिक रहेको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए। त्यसलगत्तै विद्युत् आपूर्ति बन्द भएको, केही क्षणपछि विस्फोटको आवाज सुनिएको र बाक्लो धुवाँले पूरै पब ढाकेको उनले जानकारी दिए।

उनका अनुसार अधिकांश मृतक पबको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेका छन्।

बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टका अनुसार ६३ जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये २२ जनाको अवस्था चिन्ताजनक छ। धेरै घाइतेसँग परिचय खुल्ने कागजात नभएको वा उनीहरू बेहोस अवस्थामा रहेकाले पहिचान गर्ने प्रक्रिया जारी रहेको उनले बताए।

दमकलकर्मीहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा पबभित्रका टेबल, कुर्सी तथा अन्य संरचना पूर्ण रूपमा जलेर नष्ट भएको देखिन्छ।

हराइरहेका आफन्तको खोजीमा आएका परिवारका सदस्यहरूबाट विवरण संकलन गर्न घटनास्थलमै दर्ता केन्द्र स्थापना गरिएको छ।

गायिका सुकान्या वोङवोङवाईले आफू नजिकै अर्को स्थानमा प्रस्तुति दिइरहेकी बेला आगलागीको खबर पाएपछि घटनास्थल पुगेको बताइन्। उनका अनुसार उनका केही ब्यान्ड सदस्यहरू उक्त पबमै प्रस्तुति दिइरहेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेको तथा एक जनाको अवस्था अझै अज्ञात रहेको उनले जानकारी दिइन्।

उनले घटनाबारे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिन्, “आगो लाग्नेबित्तिकै सबै ठाउँ अन्धकार भयो। बिजुली गयो, चारैतिर बाक्लो धुवाँ फैलियो। त्यसपछि कसैलाई अरू मानिस कहाँ छन् भन्ने थाहा पाउनै कठिन भयो।”

थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद आगलागीका घटना भएका छन्। सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो।

त्यसअघि सन् २००९ जनवरी १ मा बैंककको सान्टिका नाइटक्लबमा नयाँ वर्ष मनाउने क्रममा भएको भीषण आगलागीमा ६६ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानले उक्त आगलागी भित्री भागमा गरिएको आतिशबाजीका कारण भएको देखाएको थियो।

Published Date: 13 July 2026
ताजा
नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी
बैंककको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते
सोमबार नेप्से छब्बिस सय बिन्दुबाट तल झर्यो
काठमाडौंका विभिन्न मिडिया हाउसअगाडि बेवारिसे गाडी, प्रहरीले थाल्यो अनुसन्धान


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय