निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी बन्द

निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी बन्द : Icon Khabar

काठमाडौं, असार २२ । मनसुन सक्रिय भएसँगै निरन्तर वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण अस्थायी रूपमा रोकिएको छ । सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै मेलम्ची खानेपानी विकास समितिले असार १९ गतेदेखि पानी पथान्तरण बन्द गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा प्रत्यक्ष असर परेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा यस वर्ष मनसुन अपेक्षाकृत बढी सक्रिय रहेको र मेलम्ची नदीमा पानीको बहाव, बाढी, पहिरो तथा लेदो (डेब्रिस फ्लो) को जोखिम बढेकाले आयोजनाको संरचना सुरक्षित राख्न अस्थायी रूपमा पानी पथान्तरण रोकिएको जनाएको छ ।

केयूकेएलका अनुसार मेलम्चीबाट आउने पानी बन्द भए पनि उपत्यकावासीलाई खानेपानीको अभाव हुन नदिन विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी वितरणको व्यवस्था मिलाइएको छ । सुन्दरीजल, भूमिगत स्रोत, डिप बोरिङ तथा अन्य उपलब्ध जलस्रोतको अधिकतम उपयोग गर्दै नियमित वितरणलाई निरन्तरता दिने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

यसका लागि केयूकेएलले आफ्ना सबै शाखा कार्यालयलाई वितरण प्रणाली व्यवस्थित बनाउन, उपलब्ध पानीको प्रभावकारी व्यवस्थापन गर्न र उपभोक्ताले न्यूनतम समस्या भोग्ने गरी वितरण तालिका कार्यान्वयन गर्न निर्देशन दिएको छ । मेलम्चीको पानी बन्द हुँदा केही क्षेत्रमा खानेपानी वितरणको समय र मात्रा प्रभावित हुन सक्ने भएकाले पानीको सदुपयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

केयूकेएलले मनसुनको समयमा आयोजनाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने भएकाले केही समयका लागि यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ । विगतका वर्षहरूमा पनि वर्षायाममा बाढी तथा लेदोका कारण आयोजनामा क्षति पुग्ने जोखिम बढ्ने भएकाले सावधानीस्वरूप केही समय पानी पथान्तरण रोक्ने अभ्यास हुँदै आएको छ ।

कम्पनीले उपभोक्तालाई धैर्य र संयमता अपनाउन अनुरोध गर्दै अत्यावश्यक प्रयोजनका लागि मात्र पानी प्रयोग गर्न तथा अनावश्यक खपत नगर्न आग्रह गरेको छ । साथै, पानी वितरण सम्बन्धी कुनै समस्या वा गुनासो भए सम्बन्धित शाखा कार्यालय वा केयूकेएलको सम्पर्क केन्द्रमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

केयूकेएलका अनुसार मनसुनको प्रभाव कम भई मेलम्ची आयोजनाको अवस्था सुरक्षित भएको पुष्टि भएपछि पुनः पानी पथान्तरण सुरु गरिने छ । त्यसपछि उपलब्धताको आधारमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा नियमित तालिका अनुसार खानेपानी वितरणलाई पूर्ण रूपमा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

उपत्यकाको दैनिक खानेपानी आवश्यकताको ठूलो हिस्सा मेलम्ची आयोजनाबाट आपूर्ति हुँदै आएको छ। त्यसैले आयोजना अस्थायी रूपमा बन्द हुँदा वितरण प्रणालीमा केही दवाव पर्ने भए पनि वैकल्पिक स्रोतको परिचालनमार्फत उपभोक्तालाई सकेसम्म सहज रूपमा खानेपानी उपलब्ध गराउने प्रयास जारी रहेको केयूकेएलले जनाएको छ ।

Published Date: 06 July 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली