भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय

केयूकेएल भन्छ– ‘एक साताभित्र समाधान गर्छौं’

भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय : Icon Khabar

भक्तपुर, असार १७ । भक्तपुर नगरपालिका अन्तर्गतका चोछें, तुछिमला र तुलाछें टोलका स्थानीय विगत एक महिनादेखि खानेपानीको अभावले निकै सास्ती खेपिरहेका छन्। राति सुत्ने समयमा मात्र पानी आउने, त्यो पनि केही समयमै धारा बन्द हुने भएकाले स्थानीयहरू न त ढुक्कसँग सुत्न पाएका छन्, न त हप्तामा एक पटक आउने पानी नै सहज रूपमा संकलन गर्न सकेका छन्।

स्थानीयका अनुसार पानी अनियमित रूपमा मध्यरातमा आउने भएकाले पानी थाप्न रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। पानी थाप्न नसकेपछि दैनिक उपभोगका लागि समेत कठिनाइ भइरहेको उनीहरूको गुनासो छ।

यस विषयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुरका प्रमुख इन्जिनियर अनिल कुमार तिखत्रीले आइकन खबरसँग कुरा गर्दै भक्तपुरको नगरकोटस्थित मुहापोखरीको पानीको मुहान सुकेका कारण चोछें क्षेत्रमा खानेपानी वितरण प्रभावित भएको बताए।

उनका अनुसार मेलम्ची खानेपानी आयोजनाबाट आएको पानी वितरणका क्रममा पनि चोछें क्षेत्रमा आवश्यक पानीको चाप पुग्न नसक्दा सबै घरमा पानी पुर्‍याउन समस्या भएको छ। पाइपलाइनमा पानीको चाप परीक्षण गर्न विगत एक महिनादेखि रातिको समयमा पानी पठाइँदै आएको र सोही कारण धेरै उपभोक्ताले समयमा पानी उपयोग गर्न नपाएको उनले स्वीकार गरे।

स्थानीयलाई परेको असुविधाबारे आइकन खबरले जिज्ञासा राख्दा प्रमुख इन्जिनियर तिखत्रीले अबको एक साताभित्र चोछें क्षेत्रको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि, लामो समयदेखि सास्ती भोगिरहेका स्थानीय भने सम्बन्धित निकायको प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुने आशामा रहेका छन्।

Published Date: 01 July 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय