भक्तपुर, असार १७ । भक्तपुर नगर क्षेत्रमा पछिल्ला दिनहरूमा भुस्याहा कुकुरको संख्या बढ्दै जाँदा स्थानीयवासी रातिको समयमा हिँडडुल गर्न असुरक्षित महसुस गर्न थालेका छन्। विशेषगरी राति ८ बजेपछि कुकुरको बथानले सडकमा हिँड्ने पैदलयात्री तथा गुडिरहेका सवारीसाधनलाई पछ्याउने, आक्रमण गर्ने र केही घटनामा टोक्ने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
स्थानीयका अनुसार नगरका विभिन्न स्थानमा भुस्याहा कुकुरहरू समूह बनाएर सडकमा डुल्ने गरेका छन्। जसका कारण ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा रातिको समयमा कामबाट घर फर्किने सर्वसाधारण बढी जोखिममा परेका छन्। कुकुरको आक्रमणको डरले धेरैले रातिको समयमा एक्लै हिँड्नसमेत हिच्किचाउने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
सुरक्षाको चुनौतीसँगै भुस्याहा कुकुरका कारण नगरको सरसफाइ व्यवस्थापनमा समेत असर परेको स्थानीयको गुनासो छ। सडक किनारमा थुपारिएको फोहोर छरपस्ट पार्ने, निर्माण कार्यका लागि राखिएको बालुवा, गिट्टी तथा अन्य सामग्री बिगार्ने र सार्वजनिक स्थानलाई फोहोर बनाउने गतिविधि बढेको उनीहरू बताउँछन्।
स्थानीयवासीले भुस्याहा कुकुर व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले कुकुरको वैज्ञानिक व्यवस्थापन, आवश्यक परे बन्ध्याकरण, नियमित खोप, उद्धार तथा सुरक्षित आश्रय व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
भक्तपुर नगरपालिकासहित सम्बन्धित सरोकारवाला निकायले समस्या समाधानतर्फ शीघ्र ध्यान दिनुपर्ने भन्दै स्थानीयले नगरवासीको सुरक्षा, स्वास्थ्य तथा सरसफाइलाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।
Published Date: 01 July 2026