भक्तपुर, असार ९ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको बीसौं नगरसभाको बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित गरेको छ।
नगर प्रमुख प्रजापतिले नगरको समृद्धि, सुशासन र जनसेवालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीको सहयोग आवश्यक रहेको उल्लेख गरे।
आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा सम्बन्धित सरोकारवालासँग व्यापक छलफल तथा परामर्श गरिएको जानकारी दिँदै उनले नागरिक सहभागिता सुनिश्चित गर्न अनलाइन माध्यमबाट समेत राय–सुझाव संकलन गरिएको बताए।
नगरवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावलाई आवश्यकता र प्राथमिकताका आधारमा विश्लेषण गरी सोही आधारमा नीति तथा कार्यक्रम तयार गरिएको उनको भनाइ थियो।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि सात जना सभासद्ले आ–आफ्ना धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए।
सभासद् हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, कृष्णगोपाल चौगुठी, नारायणप्रसाद त्वानाबासु, तारादेवी शाक्य, मञ्जुमैयाँ लाखा र गोविन्द दुवालले महेश्वरी खेलमैदानलाई राष्ट्रियस्तरको खेलमैदानका रूपमा विकास गर्नुपर्ने, बाराही पाठीदेखि उत्तर बाराही पुलसम्म रहेका जीर्ण मन्दिरहरूको संरक्षण तथा पुनःनिर्माणमा जोड दिनुपर्ने, भक्तपुर नगरपालिका–६ स्थित नागरिक आरोग्य केन्द्रको स्तरोन्नति गरी सेवा–सुविधा विस्तार गर्नुपर्ने, ख्वप अस्पतालका सेवा–सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाउन डिजिटल प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।
उनीहरूले स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूको व्यवस्थापन, तालिम तथा आवश्यक शिक्षण सामग्री उपलब्ध गराउनुपर्ने, शैक्षिक ऋणको ब्याजदर पुनरावलोकन गरी घटाउनुपर्ने र ऋणको अधिकतम सीमा ७ लाख रुपैयाँसम्म पुर्याउन पहल गर्नुपर्ने, कृषि अध्ययन तथा अनुसन्धान प्रवर्द्धनका लागि कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्नुपर्ने, खेलकुद गतिविधिको प्रभावकारी अनुगमन गर्नुपर्ने, कमलविनायक बहुउद्देश्यीय भवन निर्माणका लागि बजेट व्यवस्था गर्नुपर्ने तथा मुलाँला सडक क्षेत्रमा हुने सवारी जाम न्यूनीकरणका लागि वैकल्पिक सडक निर्माण तथा विस्तार गर्नुपर्ने धारणा राखेका थिए।
नगरसभाको अर्को बैठक असार १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ। उक्त बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०८३/८४ को अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
Published Date: 23 June 2026