काठमाडौँ, असार ९ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा बर्डफ्लु (एच–फाइभ–एन–वान) संक्रमण तीव्र रूपमा फैलिन थालेपछि उच्च सतर्कता अपनाइएको छ। पशु सेवा विभागले उपत्यकालाई बर्डफ्लुको ‘हटस्पट’ क्षेत्रका रूपमा चिन्हित गरेको छ।
विभागका अनुसार सुरुमा कोशी प्रदेशमा एच–नाइन–एन–टु भाइरसको संक्रमण देखिएको थियो। हालसम्म मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, पश्चिम नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेसहित १० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको छ।
उपत्यकामा कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर, गोदावरी, महालक्ष्मीलगायत ५० भन्दा बढी स्थानमा बर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि पशु प्राविधिकका चार टोली परिचालन गरी प्रभावित फार्महरूमा कुखुरा, हाँसलगायत पन्छी नष्ट गर्ने कार्य भइरहेको छ।
अव्यवस्थित फार्म सञ्चालन, जंगली चराको सहज आवतजावत तथा जैविक सुरक्षा मापदण्डको पालना नहुनु संक्रमण फैलिनुको मुख्य कारण रहेको विभागको भनाइ छ। संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन प्रभावित क्षेत्रका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरी निःसंक्रमण गर्ने काम जारी रहेको छ।
सतर्कता र रोकथामका उपाय
विज्ञहरूले संक्रमित वा बिरामी पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न, मरेका पन्छीलाई नछुन, मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
पशु सेवा विभागले पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेश रोक्न, निःसंक्रामक औषधि प्रयोग गर्न, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, अण्डा राख्ने प्रयोग भइसकेका क्रेट पुनः प्रयोग नगर्न तथा खोरमा प्रवेश गर्दा एप्रोन र बुट अनिवार्य प्रयोग गर्न सुझाव दिएको छ।
त्यसैगरी फार्म क्षेत्रमा कुकुर, बिरालो, मुसालगायत अन्य जनावर प्रवेश गर्न नदिन, मरेका पन्छीलाई सुरक्षित रूपमा गाड्न तथा पन्छीजन्य वस्तुको ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य लिन विभागले आग्रह गरेको छ। धेरै संख्यामा पन्छी बिरामी परे वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
क्षतिपूर्ति र राहत व्यवस्था
सरकारले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीका धनीलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। राहत प्राप्त गर्न सम्बन्धित व्यक्तिले नष्ट गरिएको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ। निर्धारित मापदण्डअनुसार क्षतिको मूल्यांकन गरी ७५ प्रतिशतसम्म राहत रकम उपलब्ध गराइने व्यवस्था रहेको छ।
त्यस्तै बर्डफ्लु नियन्त्रण तथा प्रतिकार्यमा खटिएका कर्मचारी र श्रमिकका लागि १० लाख रुपैयाँ बराबरको जोखिम बीमाको व्यवस्था गरिएको छ। यदि बीमा नगरिएको अवस्थामा पनि खटिएको अवधिभित्र रोगका कारण बिरामी परे निःशुल्क उपचार तथा मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था रहेको सरकारले जनाएको छ।
Published Date: 23 June 2026