भक्तपुर, असार ६ । “Get Muddy, Get Active, Get Connected with Nature!” भन्ने मूल नारासहित भक्तपुरस्थित क्युरिकोट एग्रो एजुप्लेमा आयोजित क्युरिकोट मड फेस्टिभल २०८३ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। महोत्सवमा विभिन्न विद्यालयका सयौं बालबालिका तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकृतिको काखमा आयोजना गरिएको महोत्सवले बालबालिकालाई हिलोसँग खेल्दै सिक्ने अनौठो अवसर प्रदान गरेको थियो। प्रि-स्कुल तहका बालबालिकाका लागि मड ट्रेजर हन्ट, मड बकेट च्यालेन्ज, मड रिले रेस तथा फन मड रनिङ रेस जस्ता गतिविधि सञ्चालन गरिएका थिए। त्यस्तै आधारभूत तह (कक्षा १–५) का विद्यार्थीहरूले मड फुटसल, मड एथलेटिक्स र मड रिले रेसमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
महोत्सवका थप आकर्षणका रूपमा मड स्लाइड, मड किचेन, मड क्यासल निर्माण, रेन डान्स तथा मड आर्ट कर्नर रहेका थिए। दिनभर हिलोमा रमाउँदै बालबालिकाले सिर्जनशीलता, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास तथा समस्या समाधानका सीपहरू विकास गर्ने अवसर प्राप्त गरेका थिए।
कार्यक्रमका संयोजक किरण गोसाईँले मड फेस्टिभलको उद्देश्यबारे प्रकाश पार्दै भने, “मड फेस्टिभल केवल हिलोमा खेल्ने कार्यक्रम मात्र होइन, यो बालबालिकालाई प्रकृतिसँग पुनः जोड्ने अभियान हो। आजका बालबालिका प्रविधिमा बढी समय बिताइरहेका छन्। यस्तो अवस्थामा प्रकृतिमा आधारित सिकाइले उनीहरूमा सिर्जनशीलता, आत्मविश्वास, सहकार्य, शारीरिक सक्रियता तथा मानसिक सन्तुलनको विकास गर्न मद्दत गर्छ। कक्षाकोठाभन्दा बाहिर पनि सिकाइका असंख्य अवसरहरू छन् भन्ने सन्देश दिन हामीले यो कार्यक्रम आयोजना गरेका हौँ।”
उनले यस्ता प्रकृतिमैत्री तथा अनुभवमा आधारित कार्यक्रमहरूले बालबालिकाको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई आभार ब्यक्त गरे।
कार्यक्रममा सहभागी शिक्षकहरूले पनि बालबालिकाले खेल्दै सिक्ने, समूहमा सहकार्य गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा प्रकृतिप्रति आत्मीयता विकास गर्ने अवसर पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए।
प्राकृतिक वातावरण, हाँसो, उत्साह र सिर्जनात्मक गतिविधिले भरिएको क्युरिकोट मड फेस्टिभल २०८३ ले ‘खेल्दै सिक्ने’ संस्कृतिलाई थप प्रवर्द्धन गर्नुका साथै बालबालिकालाई प्रकृतिसँग नजिक ल्याउने प्रेरणादायी अभियानका रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।
Published Date: 20 June 2026