इन्जुरी समयमा घानाको चमत्कारिक गोल, पानामामाथि १-० को रोमाञ्चक जित

इन्जुरी समयमा घानाको चमत्कारिक गोल, पानामामाथि १-० को रोमाञ्चक जित : Icon Khabar

काठमाडौँ, असार ४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामामाथि १-० को रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा घानाले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको हो।

खेलको पहिलो हाफमा पानामाले उत्कृष्ट प्रदर्शन गर्दै बलमाथि आफ्नो नियन्त्रण कायम राखेको थियो। मुख्य प्रशिक्षक थोमस क्रिस्टियान्सेनको रणनीतिअनुसार मैदान उत्रिएको पानामाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि घानाको सशक्त रक्षापंक्तिलाई भेद्न सकेन।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा घानाले खेलमा सुधार गर्दै आक्रामक शैली अपनायो। निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन रहँदा खेल बराबरीतर्फ उन्मुख देखिएको थियो।

तर इन्जुरी समयको पाँचौँ मिनेटमा घानाका क्यालेब यिरेन्की नायक बने। ब्रान्डन थॉमस-असान्टे र एन्टोइन सेमेन्योको उत्कृष्ट समन्वयपूर्ण आक्रमणलाई सदुपयोग गर्दै यिरेन्कीले निर्णायक गोल गर्दै पानामाको सपना चकनाचुर बनाए।

९५औँ मिनेटमा भएको यो गोल विश्वकप इतिहासमा घानाले सबैभन्दा ढिलो समयमा गरेको गोलका रूपमा समेत दर्ज भएको छ।

यस जितसँगै घानाले समूह ‘एल’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ। समान तीन अंक रहेको इङ्गल्यान्डसँगै घाना समूहको शीर्ष स्थानमा पुगेको छ। यसअघि इङ्गल्यान्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो।

खेलभरि प्रभावशाली प्रदर्शन गरे पनि अन्तिम समयमा गोल बेहोर्दा पानामाले भने अंकविहीन यात्रा सुरु गर्न बाध्य भयो।

Published Date: 18 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै