काठमाडौं, जेठ ३१ । समूह चरणको दोस्रो बहुप्रतिक्षित खेलमा सोमबार मध्यराति इजिप्टले बेल्जियमको सामना गर्नेछ । सियाटल शहरमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।
फिफा वरीयतामा नवौं स्थानमा रहेको बेल्जियनलाई उपाधि दाबेदारको लिस्टबाट हटाउन सकिँदैन । उता मोहम्मद सलाहबाट प्रेरित इजिप्ट भने २९औं स्थानमा छ । अहिले टोली आफ्नो चौथो विश्वकप खेलिरहेको छ ।
गत संस्करण बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो । यसपाली रुदी गार्सियाको बेल्जियमसँग सम्भवतः गोल्डेन जेनेरेसनबाट नतिजा निकाल्ने अन्तिम अवसर छ ।
सन् २०१८ मा बेल्जियम कागजमा प्रतियोगिताकै बलियो टोली थियो । । इडन हाजार्ड, केभिन डी ब्र्युएना, रोमेलु लुकाकु, टिबो कोर्टुवासम्मिलित गोल्डेन जेनेरेसन त्यतिबेला च्याम्पियन फ्रान्ससँग निराश बन्यो ।
गोल्डेन जेनेरेसनको रवाफ ८ वर्षको अन्तरालमा घट्दै गएको छ । यसपाली पनि टोलीले केही उपलब्धि हासिल नगर्ने हो भने एउटा सुनौलो पुश्ता खेरा जानेछ । यद्यपि टोलीमा अहिले ४–५ खेलाडी मात्र बाँकी छन् । यस्तोमा बेल्जियमलाई ‘एभरेज’ टोली भन्दा फरक पर्दैन ।
गत संस्करण बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । त्यसपछि क्रोएसिया र मोरक्कोविरुद्ध बेल्जियमले गोल गर्न सकेन । जसका कारण टोलीले चार अंक मात्र जोड्न सक्यो र समूहको तेस्रो भयो ।
बेल्जियमका लागि त्यो ‘अर्ली एक्जिट’ एकदमै पीडादायी थियो । किनभने क्रोएसिया भेट्रान स्क्वाड लिएर कतार पुगेको थियो । त्यस्तै मोरक्कोले १९९८ यता विश्वकपमा कुनै पनि खेल जितेको थिएन ।
रसिया विश्वकपमा सेमिफाइनल पुग्नुबाहेक विश्व प्रख्यात खेलाडीहरुले भरिएको बेल्जियम युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म मात्र पुग्न सफल भयो ।
यसपाली विश्वकप छनोट प्रतियोगितामा बेल्जियमले सम्भावित २४ मा १८ अंक जोड्दै समूह विजेताको हैसियतमा अमेरिकाको टिकट काटेको हो । यसबीच टोलीले २९ गोल गर्दा ७ गोल खायो ।
विश्वकपमा छनोट भइसकेपछि बेल्जियमले चार मैत्रीपूर्ण खेल खेल्यो । चारमध्ये तीनमा टोलीले विजयी हासिल गर्यो । बेल्जियमसँग हार्ने टोलीमा थिए, अमेरिका, क्रोएसिया र ट्युनिसिया । यी चार खेलमा टोलीले १३ गोल गर्दा मात्र तीन गोल खाएको थियो ।
इजिप्ट कतार विश्वकपमा छनोट हुन सकेको थिएन । रसिया विश्वकपमा टोली समूहको पुछारमा रहँदै बाहिरिएको थियो । जतिबेला इजिप्ट तीनवटै विपक्षी (उरुग्वे, रसिया र साउदी अरेबिया)सँग पराजित भएको थियो ।
यसपाली छनोट प्रतियोगिता इजिप्तका लागि सम्झनलायक रह्यो । कूल २६ अंक जोडेको इजिप्तले एक खेल पनि हारेन । गत वर्ष अफ्रिकन कप अफ नेसन्समा इजिप्टले सेमिफाइनलसम्मको यात्रा गर्यो ।
महादेशीय प्रतियोगितापछि होस्सम हस्सनको नेतृत्वमा रहेको इजिप्टले पाँच खेल खेलेको छ । जसमध्ये टोलीले दुईमा मात्र जित निकालेको छ ।
इजिप्ट र बेल्जियम पाँचौंपटक आमने–सामने हुन लागेका हुन् । पाँचमध्ये तीन खेलमा नतिजा इजिप्टको पक्षमा गएको छ । पछिल्लो भेट नोभेम्बर २०२२ मा भएको थियो । जतिबेला इजिप्ट २–१ ले विजयी भएको थियो ।
अनुभवी गोलकिपर कोर्टुवा पहिलो रोजाईबाटै खेल्ने अपेक्षा गर्न सकिन्छ । उनलाई सेन्टरब्याक आर्थर थिएट र नाथन न्गोयले साथ दिने अनुमान गरिएको छ । एस्टन भिल्लामा सानदार सिजन बिताएका योरी टिलिमन्स मिडफिल्डमा देखिनेछन् । उनलाई क्लब सहकर्मी अमादु ओनानाले साथ दिनेछन् ।
अट्याकिङ मिडफिल्डरमा नापोलीबाट राम्रो सिजन नरहे पनि केभिन डी ब्रुयनाको विकल्प छैन । उनलाई जेरेमी डोकु र लियान्ड्रो ट्रोसाडले फ्ल्यान्कमा साथ दिनेछन् । नम्बर ९ रोलमा लुकाकुले पहिलो रोजाईबाट खेल्ने अनुमान गर्न सकिन्छ ।
सिजनको अन्त्यतिर ह्याम्स्ट्रिङ इन्जुरीबाट सताइएका इजिप्टियन किङ सलाह पूर्ण रुपमा फिट छैनन् । त्यसैले उनलाई मैदानमा ट्राजेकेट, ओमार मारमाउस र जिजोजस्ता फरवार्डहरु आवश्यक पर्नेछ । जसले उनका लागि दौडिनेछन् ।
सेन्टरब्याक जोडीमा यासीर इब्राहिम र र्यामी राबिया हुन सक्छन् । अनि गोलकिपरमा मोहम्मद एल शेनावीको सम्भावना बढी छ । समूह ‘जी’को अर्को खेलमा इरानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार मंगलबार बिहान ६ः४५ बजे हुनेछ ।