काठमाडौं, जेठ २९ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले विश्वकप फुटबल–२०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण तथा स्ट्रिमिङ हुन नदिन मोबाइल, इन्टरनेट र इमेल सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणको अनुमति तथा अनुगमन शाखाले बुधबार जारी गरेको पत्रमा सूचना तथा सञ्चार मन्त्रालयमार्फत प्राप्त जानकारीअनुसार विश्वकप फुटबल–२०२६ को नेपालभित्रको विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्ट्स र डिजिहोम डिजिटल प्रालि अन्तर्गतको डीजीओ संयुक्त उपक्रमले प्राप्त गरेको उल्लेख गरिएको छ।
प्राधिकरणका अनुसार केही पाइरेटेड तथा अनधिकृत वेबसाइट र एपहरूले विश्वकपका खेलहरू नेपालमा निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएकाले यस्ता गतिविधिमा रोक लगाउन सेवा प्रदायकहरूलाई निर्देशन दिइएको हो।
एनटीएले सेवा प्रदायकहरूलाई पत्रमा उल्लेख गरिएका पाइरेटेड वेबसाइट तथा एपहरूबाट विश्वकप–२०२६ का खेलहरूको अनधिकृत प्रसारण वा स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाउन र त्यसबारे प्राधिकरणलाई जानकारी गराउन आग्रह गरेको छ।
प्राधिकरणले अनधिकृत प्रसारणले प्रसारण अधिकारको उल्लंघन गर्ने तथा सम्बन्धित अधिकारधनी संस्थालाई आर्थिक क्षति पुग्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ।
पत्रमा दर्जनौँ वेबसाइटहरूको सूची समावेश गरिएको छ, जसलाई विश्वकप फुटबल–२०२६ को अनधिकृत प्रसारणसँग सम्बन्धित भन्दै निगरानी तथा आवश्यक कारबाहीका लागि सेवा प्रदायकहरूलाई सूचित गरिएको छ।
Published Date: 11 June 2026