भक्तपुर, जेठ २८ । आगामी आर्थिक वर्षको बजेट तथा नीति–कार्यक्रम तर्जुमा गर्न भक्तपुर नगरपालिकाले युवा, विद्यार्थी, टिम क्लब तथा वाचनालयहरूसँग राय–सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले आगामी बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन युवाहरू र विद्यार्थीहरूबाट आएका सुझावलाई प्राथमिकताका साथ समावेश गरिने बताए।
उनका अनुसार नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ, जसले भक्तपुरमै उच्च शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध गराएको छ।
नगरपालिकाले युवाहरूलाई शिक्षासँगै सीपमूलक तालिम प्रदान गर्दै कम्प्युटर, चिनियाँ तथा जापानी भाषा, एआई प्रयोगसम्बन्धी तालिम तथा युवा उद्यमशीलता ऋणमार्फत स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्ने प्रयास गरिरहेको पनि उनले उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले वडा–वडामा आदर निकेतन स्थापना, कमलपोखरी सफाइ, दक्षिणपट्टिको पानी चुहावट समाधान, सुनध्वाका क्षेत्रको सरसफाइ र मर्मत, टौमढी क्षेत्रमा ढुंगा छपाइ, मुख्य सडक किनारमा वृक्षारोपण, सूचना प्रविधिको विस्तार, रोजगारमुखी कार्यक्रम सञ्चालन, प्रत्येक वडामा इनडोर हल तथा खेलमैदान निर्माण, नागपोखरीको पर्खाल निर्माण तथा मर्मत, थालाछेँ क्षेत्रमा पुस्तकालय स्थापना, बेरोजगार युवालाई लक्षित कार्यक्रम सञ्चालन लगायतका सुझाव दिएका थिए।
त्यस्तै, गृहकार्य कक्षालाई थप प्रभावकारी बनाउन शिक्षकको संख्या बढाउनुपर्ने, वाचनालयमा अद्यावधिक पुस्तक उपलब्ध गराउनुपर्ने, जनशक्ति व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने, लिपी कक्षालाई निरन्तरता दिनुपर्ने, युवालक्षित कार्यक्रममा स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने तथा नयाँ आवास क्षेत्रमा स्थानीय मौलिकता झल्किने संरचना निर्माण गर्नुपर्ने सुझाव पनि राखिएको थियो।
सहभागीहरूले पुस्तकालयलाई अध्ययनस्थल मात्र नभई ज्ञान र सीप विकासको केन्द्र बनाउनुपर्ने, सार्वजनिक शौचालय निर्माण, धुँवा उत्सर्जन गर्ने उद्योगलाई आवास क्षेत्रबाट टाढा सार्नुपर्ने, प्लानिङ करिडोर क्षेत्रमा वृक्षारोपण, स्विमिङ पुल निर्माण, नयाँ आवास क्षेत्रमा सुरक्षा सुदृढीकरण, सामुदायिक विद्यालयलाई सहयोग, रानी पुखुमा शौचालय तथा पार्किङ व्यवस्था, सिद्धपोखरी क्षेत्रको खेलमैदान स्थानीयको पहुँचमा ल्याउने, बालबोध शान्ति विद्यालय पुनःनिर्माणका लागि बजेट व्यवस्थापन, ख्वप अस्पतालमा भीड व्यवस्थापन सुधार, स्थानीय कलाकारका लागि प्लेटफर्म उपलब्ध गराउने र महेश्वरी खेलमैदान स्तरोन्नति गर्नुपर्ने सुझाव दिएका थिए।
Published Date: 11 June 2026