भक्तपुर नगरपालिका वडा नं ८ मा १० दिने पब्लिक स्पिकिङ तालिम सम्पन्न

भक्तपुर नगरपालिका वडा नं ८ मा १० दिने पब्लिक स्पिकिङ तालिम सम्पन्न : Icon Khabar
तस्बिर: भक्तपुर नगरपालिका

भक्तपुर, जेठ २६ । भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा सञ्चालित १० दिने उद्घोषक (पब्लिक स्पिकिङ) तालिम मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ।

समापन कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रभावकारी वक्ता बन्न सफल र असल व्यक्तिहरूको अध्ययन तथा निरन्तर अभ्यास आवश्यक हुने बताए। कुनै पनि व्यक्ति एकैपटक सफल नहुने उल्लेख गर्दै उनले लगनशीलता, निरन्तर प्रयास र आत्मविश्वासले मात्र सफलता हासिल गर्न सकिने धारणा राखे।

“यो तालिम एउटा दबु मात्र हो, अबको लक्ष्य र गन्तव्य सहभागीहरूले आफैं तय गर्नुपर्छ,” उनले भने।

उनले वक्तृत्वकलाको विकासका लागि अध्ययन, अनुसन्धान र विषयवस्तुको गहिरो ज्ञान आवश्यक पर्ने उल्लेख गर्दै ज्ञान र सीपको संयोजनबाट मात्र प्रभावकारी वक्ता बन्न सकिने बताए। साथै भक्तपुरमा भएका सकारात्मक कार्यहरूको प्रचार–प्रसार स्थानीय नागरिक र युवाहरूले नै गर्नुपर्ने धारणा राखे।

शिक्षा क्षेत्रमा नगरपालिकाले कलेज सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याएको उल्लेख गर्दै उनले युवापुस्तामा पठन संस्कृतिको विकासलाई प्राथमिकता दिइएको बताए। यसका लागि सञ्चालनमा ल्याइएको जनज्योति पुस्तकालय मा आधुनिक ई–लाइब्रेरीको व्यवस्था गरिएको जानकारी दिँदै पुस्तकालयले अध्ययन, अनुसन्धान र ज्ञान अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

समसामयिक विषयमा धारणा राख्दै नगर प्रमुख प्रजापतिले केवल युवा उमेरका व्यक्ति नेतृत्वमा पुगेकै आधारमा सबै काम राम्रो हुन्छ भन्ने नठान्न आग्रह गरे। नेतृत्वमा जिम्मेवारी, जवाफदेहिता, अनुशासन र राष्ट्रप्रतिको प्रतिबद्धता सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ थियो। उनले संसदमा नियमित उपस्थिति नजनाउने, जनताप्रति जवाफदेही नहुने तथा अनुशासनहीन गतिविधि देखिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरू जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए।

कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले पब्लिक स्पिकिङ तालिमले सहभागीहरूको आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। प्रभावकारी सञ्चार कला आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आफ्ना विचार स्पष्ट र व्यवस्थित रूपमा प्रस्तुत गर्न सक्ने क्षमता विकासका लागि यस्ता तालिम उपयोगी हुने बताए।

पूर्व वडाध्यक्ष महेन्द्र ख्यामलीले नयाँ पुस्तालाई सक्षम नागरिकका रूपमा विकास गर्न यस्ता तालिम आवश्यक रहेको बताए। व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा प्रभावकारी सञ्चार सीप अभिवृद्धिका लागि उद्घोषक तथा पब्लिक स्पिकिङ तालिम महत्वपूर्ण हुने उनको भनाइ थियो।

वडा सदस्य रामसुन्दर बासीले स्पष्ट उच्चारण, सरल भाषा र आत्मविश्वासका साथ बोल्न सक्ने क्षमता विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताए। सार्वजनिक रूपमा बोल्ने सीपले सामाजिक तथा व्यावसायिक जीवनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने उनले उल्लेख गरे।

तालिमका प्रशिक्षक किरण सुवालले सहभागीहरूको नियमित उपस्थिति र अनुशासनको प्रशंसा गर्दै बोल्ने कला हरेक व्यक्तिका लागि अपरिहार्य सीप भएको बताए। “बोल्ने कला नभएका व्यक्तिहरू धेरै क्षेत्रमा पछाडि पर्न सक्छन्। त्यसैले यो तालिम सबैका लागि र हरेक क्षेत्रमा उपयोगी छ,” उनले भने।

प्रशिक्षार्थीहरु वैविक लक्ष्मी बाला, अञ्जली श्रेष्ठ, रिजा कपाली, रजल जकिबन्जार, प्रनिशा दुवाल र वर्षना सुवालले तालिम उपलब्धिमूलक रहेको अनुभव सुनाउँदै उद्घोषण कला, प्रस्तुतीकरण सीप, शुद्ध उच्चारण तथा आत्मविश्वासका साथ बोल्ने क्षमता विकास भएको बताए।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले तालिम सफलतापूर्वक सम्पन्न गरेका ४० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा वडा नं ८ का वडा सदस्य सुमित्रा बोहजु र कृष्णलाल किसीको पनि उपस्थिति रहेको थियो।

Published Date: 09 June 2026