गुणस्तर परीक्षणमा असफल भएपछि करेन्ट चाउचाउ बजारबाट फिर्ता

गुणस्तर परीक्षणमा असफल भएपछि करेन्ट चाउचाउ बजारबाट फिर्ता : Icon Khabar

काठमाडौँ, जेठ ५ । नेपाल सरकारअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले ‘करेन्ट’ ब्रान्ड चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश जारी गरेपछि उक्त उत्पादनको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।

विभागले २०८३ वैशाख २९ गते जारी गरेको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलित नमुनाको परीक्षण गर्दा उत्पादनमा प्रयोग गरिएको “एसिड भ्यालु” नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नभेटिएको जनाएको छ। त्यसपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त उत्पादन तत्काल बजारबाट फिर्ता (Recall) गर्न तथा बिक्री–वितरण रोक्न निर्देशन दिइएको हो।

सूचनामा १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नं. ०४A प्रभावित रहेको उल्लेख गरिएको छ। उक्त उत्पादन Yashoda Foods Pvt. Ltd. द्वारा उत्पादन गरिएको विभागले जनाएको छ।

सरकारी निकायबाटै ‘रिकल’ आदेश जारी भएपछि उपभोक्तामाझ करेन्ट चाउचाउको गुणस्तर, उत्पादन प्रक्रिया तथा बजार व्यवस्थापनबारे चासो र चिन्ता बढेको देखिएको छ। सामाजिक सञ्जालमा समेत उत्पादनको गुणस्तरबारे व्यापक बहस सुरु भएको छ।

यसैबीच, यशोदा फुड्सले जनहितमा सन्देश जारी गर्दै अत्यधिक गर्मी, घाम तथा अनुचित भण्डारणका कारण खाद्य सामग्रीको गुणस्तरमा असर पर्न सक्ने जनाएको छ। कम्पनीले विक्रेता तथा महाजनहरूलाई उत्पादन सुरक्षित स्थानमा राख्न तथा उपभोक्तालाई उत्पादन मिति र म्याद जाँच गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ।

कम्पनीले “गुणस्तर, स्वाद र सन्तुष्टि” आफ्नो लक्ष्य रहेको दाबी गरे पनि सरकारी परीक्षणपछि बजारमा करेन्ट चाउचाउप्रति उपभोक्ताको विश्वासमा असर परेको चर्चा हुन थालेको छ।

Published Date: 19 May 2026