भक्तपुरमा साप्ताहिक हाट बजार सञ्चालन सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य

भक्तपुरमा साप्ताहिक हाट बजार सञ्चालन सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य : Icon Khabar

भक्तपुर, वैशाख २० । सूर्यविनायक नगरपालिका वडा नं. २ अन्तर्गत गोदावरी खोला करिडोर, बालकोटमा साप्ताहिक हाट बजारको औपचारिक शुभारम्भ भएको छ।

स्थानीय तहको पहलमा सञ्चालनमा ल्याइएको यस हाट बजारको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु, साना तथा मझौला व्यवसायीहरूलाई सशक्त बनाउनु र उपभोक्तालाई ताजा तथा गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउनु रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रतिनिधिहरूले हाट बजारले स्थानीय किसान, उद्यमी तथा व्यवसायीहरूलाई आफ्नो उत्पादन प्रत्यक्ष रूपमा बजारमा ल्याउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, यसले स्थानीय आर्थिक गतिविधि बढाउँदै समुदायमा रोजगारी सिर्जना र आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हाट बजारमा कृषि उत्पादन, घरेलु सामग्री, स्थानीय परिकार लगायत विभिन्न वस्तुहरू उपलब्ध हुने जनाइएको छ। प्रत्येक हप्ता नियमित रूपमा सञ्चालन हुने यस बजारले स्थानीय बासिन्दाहरूका लागि किनमेलको नयाँ गन्तव्य बन्ने विश्वास लिइएको छ।

Published Date: 03 May 2026