थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्यो

थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्यो : Icon Khabar

काठमाडौँ, वैशाख १२ । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन शनिबार बिहानैदेखि सरकारले डोजर परिचालन गरेको छ। सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत संरचना हटाउने क्रममा हाल दुईवटा डोजर प्रयोगमा ल्याइएको छ।

बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीले संयुक्त रूपमा सहकार्य गरिरहेका छन्। सो क्षेत्रमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सरकारले आजदेखि बस्ती हटाउने तयारी थालेपछि स्थानीयवासीमा तनावपूर्ण अवस्था देखिएको छ। यसअघि सम्बन्धित निकायले बस्ती खाली नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको थियो।

तर, स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।

Published Date: 25 April 2026