भक्तपुर, चैत २९ । भक्तपुरको इनाचो खंचा वडा नं ७ स्थित सूर्योदय सेकेन्डरी स्कुलले आफ्नो ४५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा अभिभावक दिवस, पुरस्कार तथा प्रमाणपत्र वितरण, सांस्कृतिक प्रस्तुति लगायत विविध कार्यक्रमहरू सम्पन्न भएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र व्यवहारिक सिकाइमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरे। त्यस्तै विशेष अतिथि भक्तपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष उकेश कवां, विद्यालयका संस्थापक रामगोपाल कर्माचार्य, महेन्द्रगोपाल कर्माचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, विभिन्न व्यक्तित्व तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कर्माचार्यको सभापतित्वमा सम्पन्न समारोहमा विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यले शैक्षिक वर्षभरि विद्यालयमा सञ्चालन गरिएका विभिन्न शैक्षिक तथा सह–शैक्षिक गतिविधिहरू समेटिएको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा विद्यालयको शैक्षिक उपलब्धिलाई प्रमुख रूपमा उल्लेख गर्दै विद्यार्थीहरूको निरन्तर सुधारिएको नतिजा, सिकाइ उपलब्धि तथा समग्र शैक्षिक गुणस्तरमा भएको प्रगतिलाई उजागर गरिएको थियो।
त्यसैगरी अतिरिक्त क्रियाकलापतर्फ विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी आयोजना गरिएका विभिन्न आन्तरिक तथा बाह्य प्रतियोगिताहरू—जस्तै खेलकुद, नृत्य, गायन, हिज्जे प्रतियोगिता, वादविवाद तथा सांस्कृतिक कार्यक्रमहरूको विवरण प्रस्तुत गरिएको थियो। यी गतिविधिहरूले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्काउट कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई व्यवहारिक जीवनोपयोगी सीप, अनुशासन, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध प्रशिक्षण र गतिविधिहरू सञ्चालन गरिएको जानकारी पनि प्रस्तुत गरियो। यसले विद्यार्थीहरूलाई कक्षा कोठाबाहिरको सिकाइ अनुभव प्रदान गरेको बताइएको छ।
त्यस्तै शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम (One-on-One Talk) मार्फत विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन, व्यवहार तथा अन्य पक्षहरूमा नियमित छलफल गर्दै सुधारात्मक कदमहरू अपनाइएको उल्लेख गरिएको थियो। यसले विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाएको प्रतिवेदनमा भनिएको छ।
विद्यार्थी परामर्श तथा मार्गदर्शन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको मानसिक, सामाजिक तथा शैक्षिक समस्याहरू पहिचान गरी आवश्यक परामर्श प्रदान गरिएको र उनीहरूको समग्र विकासमा सहयोग पुगेको जानकारी दिइएको थियो।
साथै, सामाजिक गतिविधिहरू अन्तर्गत सरसफाइ अभियान, समुदाय–आधारित कार्यक्रम, नगरपालिकाद्वारा आयोजित विभिन्न कार्यक्रम तथा “एक सम्पदा एक विद्यालय” जस्ता गतिविधिहरूमा विद्यालयको सक्रिय सहभागिता रहेको प्रतिवेदनमा समेटिएको थियो।
कार्यक्रममा लोकप्रिय सञ्चारकर्मी तथा पूर्व विद्यार्थी किरण सुवाललाई “सूर्योदय रत्न सम्मान” द्वारा सम्मान गरिएको छ। विद्यालयले सञ्चार क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।
त्यसैगरी जयन्त पौडेल छात्रवृत्ति कोषमार्फत विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति वितरण गरिएको थियो। विद्यालयले यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित र प्रेरित गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले समारोहलाई थप आकर्षक बनाएको थियो। साथै, विद्यार्थीहरूको प्रतिभा विकासका लागि विद्यालयले गर्दै आएको निरन्तर प्रयासको समेत सराहना गरिएको छ।
विद्यालयले यस वर्ष SEE परीक्षा तथा नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै विभिन्न खेलकुद, हिज्जे, वादविवाद तथा सांस्कृतिक प्रतियोगिताहरूमा समेत उल्लेखनीय सफलता प्राप्त गरेको जनाएको छ।