अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने

अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने : Icon Khabar

काठमाडौं, चैत २३ । अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।

विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।

हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा यो प्रणाली लागु गरिएको हो । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो कार्यान्वयन भएको हो ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ । सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध गराइने छ ।

यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन । अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार दुई सय भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्ट लगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार सात सय हाराहारी छ । पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएको विभागको भनाइ छ ।

Published Date: 06 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली