भक्तपुर, चैत २२ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्का जात्राको तयारी तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार सम्बन्धित निकायबीच भएको समन्वय बैठकले जात्रा अवधिभर शान्ति–सुरक्षालाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
बैठकले जात्राका क्रममा मादक पदार्थको बिक्री, वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ। साथै, जात्रामा हुलदंगा वा झैझगडा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई हिरासतमा राखेर मुद्दा चलाइने तथा उनीहरूको अभिलेख प्रहरी रिपोर्टमा समावेश हुने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो।
जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सामग्री, प्राथमिक उपचार सेवा, एम्बुलेन्स तथा दमकल तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। भक्तपुर प्रहरी परिसर प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार जात्रा क्षेत्र वरपर ३६ वटा सीसीटीभी र तीन वटा ड्रोनमार्फत निगरानी गरिनेछ।
सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने पनि उनले जानकारी दिए।
बिस्का जात्रा यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म आठ रात नौ दिनसम्म सञ्चालन हुने छ। जात्राको प्रमुख आकर्षण तीन तले भैरवनाथको रथ निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ।
Published Date: 05 April 2026