भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान

भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान : Icon Khabar

भक्तपुर, चैत ११ । भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुरले जिल्लाबाट निर्वाचित नयाँ प्रतिनिधि सभा सदस्यहरूको सम्मानमा मंगलबार साँझ विशेष कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवाल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। भक्तपुरका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ विजयी भएका प्रतिनिधिहरू तथा समानुपातिक प्रणालीबाट चयन भएका सांसदहरू गरी पाँच जनालाई कार्यक्रममा सम्मान गरिएको थियो। यद्यपि, समानुपातिकतर्फबाट चयन भएका एक जना सांसद भने कार्यक्रममा सहभागी हुन सकेनन्।

उक्त कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि रुकेश रञ्जित र क्षेत्र नम्बर २ का प्रतिनिधि राजीव खत्रीले आफ्ना विचार राख्दै आगामी दिनमा जिल्लाको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, समानुपातिक सांसदहरू मदनकृष्ण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल र कुसुम महर्जनले पनि आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता चेम्बरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले गरेका थिए। कार्यक्रममा व्यवसायीहरूले भोग्दै आएका समस्या र चुनौतीहरूबारे नवनिर्वाचित सांसदहरूको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरिएको थियो।

कार्यक्रमको समापनमा परम्परागत नेवारी संस्कृतिअनुसार धौ, स्वगं (ऐला) प्रदान गर्दै अतिथिहरूलाई सम्मान गरिएको थियो।

Published Date: 25 March 2026