काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिज अन्तर्गत नेपालमा भएका चार वटै खेलमा विजयी भएको क्रिकेट टिमलाई मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिएको हो।
प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिमलाई बधाई दिँदै फेसबुकमा लेखेका थिए , ‘‘आईसीसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’’
त्रिवि मैदान कीर्तिपुरमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराउदै सिरिजमा क्लिन स्वीपको नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।
नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि रोहित पौडेलले अविजित सर्वाधिक ९५ रन बनाएको थियो भने करण केसीले अविजित ३१ रन , ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिष शेखले १२ रन बनाएको थियो ।
खेलमा रोहित प्लेयर अफ दि म्याच घोषित भएको थियो ।
लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्डले अन्तिम खेलमा हार खेप्दै लिगका सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्क जोड्दै शीर्षस्थानमा छ भने २८ खेलमा २६ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ । ३४ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ ।
नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
Published Date: 21 February 2023