करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा

बचतकर्ताको उजुरीपछि वडा कार्यालयको चासो, सञ्चालकहरू विदेश जान नपाउने व्यवस्था मिलाइदिन माग

करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा : Icon Khabar

भक्तपुर, फागुन २९ । भक्तपुर सूर्यविनायकस्थित अनन्त बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताहरूको करोडौं रुपैयाँ लामो समयदेखि फिर्ता नहुँदा विवाद चर्किएको छ। बचतकर्ताहरूले आफ्नो रकम सुरक्षित गराउन र सहकारीका सञ्चालकहरू विदेश जान नपाउने व्यवस्था मिलाइदिन वडा कार्यालयमा निवेदन दिएका छन्।

स्थानीय बचतकर्ताहरूका अनुसार सहकारीका सञ्चालकहरूले आफ्नै आमालाई संस्थाको अध्यक्ष बनाउँदै सहकारी सञ्चालन गर्दै आएका र आफुहरु संचालक र प्रबन्धक बन्दै आएका थिए। भक्तपुर नगरपालिका वडा नं. ६ सहित विभिन्न क्षेत्रका बचतकर्ताहरूले उक्त सहकारीमा बचत खाता तथा मुद्दती निक्षेपका रूपमा ठूलो रकम जम्मा गरेका थिए। तर, भुक्तानीको समय पुगिसक्दा पनि बचतकर्ताहरूले आफ्नो रकम फिर्ता नपाएको गुनासो गरेका छन्।

बचतकर्ताहरूले दिएको निवेदनमा सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम फिर्ता नगरी विदेश जाने तयारी गरिरहेको आशंका व्यक्त गरिएको छ। सोही आधारमा उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी विदेश जान नदिने व्यवस्था मिलाइदिन वडा कार्यालयसँग आग्रह गरिएको छ।

यसैबीच, सोही सहकारीका एक बचतकर्ता लक्ष्मी प्रसाद धौबंजारले आफूले आफ्ना छोरीहरूलाई विदेश अध्ययनका लागि पठाउने उद्देश्यले उक्त सहकारीमा रकम बचत गरेको बताएका छन्। उनले आवश्यक परेको बेला पैसा फिर्ता माग्न जाँदा पनि सहकारीबाट रकम नपाएको गुनासो गरे।

धौबंजारका अनुसार रकम फिर्ता माग्दा सहकारीका सञ्चालकहरूले “तिमीले सक्ने गर” भन्दै धम्की दिएर आफूलाई फर्काइदिएको आरोप लगाएका छन्। सो घटनापछि मानसिक तनावका कारण आफू पटक–पटक बिरामी भई अस्पतालसमेत जानुपरेको उनले बताएका छन्।

यस विषयमा भक्तपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष डा. हरिराम सुवालले बचतकर्ताहरूबाट लिखित निवेदन प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार सहकारीका सञ्चालकहरू र बचतकर्ताहरू दुवै सोही वडाका बासिन्दा भएकाले समस्या समाधानका लागि वडा कार्यालयले सहजीकरण गर्ने जिम्मेवारी लिएको छ।

“बचतकर्ताहरूको उजुरी आएपछि समस्या समाधानको पहल स्वरूप केही समयका लागि नाता प्रमाणितसम्बन्धी सिफारिस प्रक्रिया रोकिएको हो,” अध्यक्ष सुवालले बताएका छन्।

तर सहकारीका सञ्चालकहरूले भने वडा अध्यक्षले आफूहरूको नाता प्रमाणितसम्बन्धी सिफारिस रोकिदिएको भन्दै आरोप लगाएका छन्। साथै, वडा अध्यक्षमाथि दबाब तथा धम्कीसमेत दिएको आरोप स्थानीय स्रोतहरूले बताएका छन्।

हाल उक्त प्रकरणले स्थानीय स्तरमा चासो बढाएको छ। साथै, बचतकर्ताहरूले आफ्नो रकम फिर्ता नपाएसम्म सहकारीका सञ्चालकहरूलाई कुनै पनि प्रकारको सिफारिस नदिनुपर्ने मागसमेत गरेका छन्।

Published Date: 13 March 2026