भक्तपुर, माघ २३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलद्वारा आयोजित स्पोर्टस् कार्निभल २०८२ ‘Let’s Play for Smile and Shine’ तथा ‘Where Every Child is Winner’ नाराका साथ एक सातासम्म उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
माघ ११ आइतबारदेखि माघ १६ शुक्रबारसम्म सञ्चालन भएको उक्त कार्निभल विद्यालयको प्रि–स्कूल थिम ‘Explore, Learn & Grow’ अनुरूप बालबालिकाको सर्वाङ्गीण विकास, आत्मविश्वास अभिवृद्धि तथा अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्निभलमा प्ले किड्सदेखि सिनियर किड्स तथा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो र दोस्रो दिन कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूबीच विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरियो। तेस्रो दिन प्रि–किड्सका नानीहरू र अभिभावकबीच रमाइलो खेल गतिविधि आयोजना गरियो। चौथो दिन जुनियर किड्स, पाँचौं दिन सिनियर किड्स तथा अन्तिम दिन प्ले किड्सका विद्यार्थीहरूले अभिभावकसँगै खेल गतिविधिमा सहभागिता जनाए।
अन्तिम दिन विद्यार्थीहरूले कराते स्पाइरल प्रतियोगिता, ग्रेडिङ, काटा तथा टायल ब्रेकिङजस्ता प्रदर्शन प्रस्तुत गर्दै अभिभावकको ध्यान आकर्षित गरेका थिए। प्रत्येक दिन विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्नुका साथै विजयी अभिभावकहरूलाई मेडल प्रदान गरिएको थियो। सहभागी तथा विजयी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ।
हप्ताभर सञ्चालन भएको स्पोर्टस् कार्निभलमा जम्पिङ रेस, स्पुन रेस, म्याथम्याटिकल रेस, स्याक रेस, रनिङ रेस, पजल रेस, रिङ रेस, कलेक्टिङ बल, बेलुन ब्यालेन्सिङ, टावर मेकिङ गेम, कराते (छात्र/छात्रा), फुटसललगायतका खेलहरू समावेश गरिएको थियो।
समापन समारोहमा विद्यार्थीहरूले योगा प्रदर्शन, गीत तथा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। अभिभावकसामु प्रस्तुति दिने अवसर पाउँदा विद्यार्थीहरू उत्साहित देखिन्थे भने अभिभावकहरूले आफ्ना बालबालिकाको प्रगति र आत्मविश्वास देखेर खुसी व्यक्त गरेका थिए।
कार्यक्रम समापनका अवसरमा विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले खेलकुदले शारीरिक विकाससँगै मानसिक सन्तुलन, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले ग्रेडिङमा सफल विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिन्।
यसरी, ‘जहाँ हरेक बालबालिका विजेता हुन्छ’ भन्ने सन्देशसहित सम्पन्न वि किड्स स्पोर्टस् कार्निभल २०८२ ले विद्यार्थी र अभिभावक दुवैका लागि मनोरञ्जनसँगै सिकाइ, सहकार्य र सकारात्मक विकासको अनुभव प्रदान गरेको विद्यालय प्रशासनले जनाएको छ।