काठमाडौं, माघ १५ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू-भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।
Published Date: 29 January 2026