बेइजिङ, कात्तिक १९ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
यससँगै विश्वका दुई ठुला अर्थतन्त्रबिचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम रहने भएको छ । बेइजिङको स्टेट काउन्सिललाई उद्धृत गर्दै चीनको वित्त मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सामानमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिने छ र १० प्रतिशत कर भने यथावत् रहने छ ।”
उक्त निर्णय नोभेम्बर १० देखि लागु हुने छ । मन्त्रालयका अनुसार यो कदम ‘चीन-अमेरिका आर्थिक र व्यापार परामर्शमा पुगेको सहमति’ अनुसार आएको हो । दुई राष्ट्रका शीर्ष नेताले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटवार्तामा आपसी सहमतिबाट व्यापारिक तनाव घटाउने प्रारम्भिक कदम चाल्नु भएको थियो । त्यसले पछिल्ला महिनामा अनेकौँ चरणमा चलेको वार्तालाई स्थायित्व दिँदै प्रभावकारीरूपमा एक वर्षको युद्धविराम विस्तार गरेको बताइएको छ ।
मङ्गलबार राष्ट्रपति ट्रम्पले पनि वासिङ्टनले चिनियाँ आयातमा लगाइएको अतिरिक्त शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने निर्णयको घोषणा गर्नु भएको थियो । यो त्यस्तै गरी नोभेम्बर १० बाट लागु हुने छ । गत वर्षदेखि एकअर्काका वस्तुमा लगातार उच्च कर लगाइँदै आएपछि बेइजिङ र वासिङ्टनबिचको तनावले विश्व बजारमा अनिश्चितता निम्त्याएको थियो ।
कुनै चरणमा दुवै देशका कर दर तीन अङ्कको स्तरमा पुगेका थिए, जसले द्विपक्षीय व्यापारलाई ठप्प पार्ने अवस्था ल्याएको थियो । हालैका महिनामा निर्यात नियन्त्रण, प्रविधि हस्तान्तरण र औद्योगिक नीतिजस्ता विषयमा उत्पन्न तनावका बिच दुवै देशका शीर्ष आर्थिक अधिकारीले वार्ताको माध्यमबाट असहज शान्ति कायम राखेका छन् ।
छुट्टै वक्तव्यमा, चीनले अमेरिकी कृषि उत्पादनमा लगाइएको ‘अतिरिक्त कर उपाय कार्यान्वयन गर्न अस्थायीरूपमा रोक लगाउने’ घोषणा गरेको छ । यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रण सम्बन्धी कठोर नीति अपनाउँदै अतिरिक्त कर दोब्बर बनाउने कदमको प्रतिक्रिया स्वरूप आएको हो । अब ती कर पुनः १० प्रतिशतमा झर्ने छन् ।
बेइजिङले विगतमा अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत र सोयाबिन, सुँगुरको मासु, गाईको मासु, दुग्ध तथा अन्य कृषि उत्पादनमा थप १० प्रतिशत शुल्क लगाएको थियो । ती कदमले विशेषतः अमेरिकी किसान-ट्रम्पको मुख्य राजनीतिक समर्थन आधार-लाई गम्भीर असर पारेको थियो ।
गत वर्ष मात्र अमेरिकी सोयाबिन निर्यातको आधाभन्दा बढी चीनमा गएका थिए, तर व्यापार विवाद तीव्र बन्दै गएपछि चीनले ती सबै अर्डर रद्द गरेको थियो । वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वको निर्यातमा लगाइएका प्रतिबन्ध पनि एक वर्षका लागि निलम्बन गर्न सहमति जनाएको छ । यी तत्व रक्षा उद्योग, विद्युतीय सवारी साधन र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणमा अत्यावश्यक मानिन्छन् र यस क्षेत्रमा चीनको वैश्विक प्रभुत्व रहेको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार वासिङ्टनले पनि कालोसूचीमा परेका विदेशी कम्पनीका ५० प्रतिशत साझेदारी भएका सहायक कम्पनीमा लगाइने ‘एन्टिटी लिस्ट’ निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने सहमति जनाएको छ । अमेरिकी सरकारले चीनको जहाज निर्माण उद्योगमाथि लक्षित प्रतिबन्धात्मक उपाय पनि एक वर्षका लागि रोक्ने निर्णय गरेको छ ।
यससँगै दुवै पक्षले एकअर्काका जहाजमा लगाइँदै आएका पोर्ट शुल्क पनि निलम्बन गर्ने भएका छन् । अमेरिकाको पछिल्लो कदमपछि चीनले आफ्नो ‘प्रतिआक्रमणात्मक शुल्क नीति’ पनि एक वर्षका लागि स्थगित गर्ने घोषणा गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध सुधारतर्फ सकारात्मक सन्देश दिएको छ । – रासस/एएफपी
Published Date: 05 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1