चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित

चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित : Icon Khabar

बेइजिङ, कात्तिक १९ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

यससँगै विश्वका दुई ठुला अर्थतन्त्रबिचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम रहने भएको छ । बेइजिङको स्टेट काउन्सिललाई उद्धृत गर्दै चीनको वित्त मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सामानमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिने छ र १० प्रतिशत कर भने यथावत् रहने छ ।”

उक्त निर्णय नोभेम्बर १० देखि लागु हुने छ । मन्त्रालयका अनुसार यो कदम ‘चीन-अमेरिका आर्थिक र व्यापार परामर्शमा पुगेको सहमति’ अनुसार आएको हो । दुई राष्ट्रका शीर्ष नेताले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटवार्तामा आपसी सहमतिबाट व्यापारिक तनाव घटाउने प्रारम्भिक कदम चाल्नु भएको थियो । त्यसले पछिल्ला महिनामा अनेकौँ चरणमा चलेको वार्तालाई स्थायित्व दिँदै प्रभावकारीरूपमा एक वर्षको युद्धविराम विस्तार गरेको बताइएको छ ।

मङ्गलबार राष्ट्रपति ट्रम्पले पनि वासिङ्टनले चिनियाँ आयातमा लगाइएको अतिरिक्त शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने निर्णयको घोषणा गर्नु भएको थियो । यो त्यस्तै गरी नोभेम्बर १० बाट लागु हुने छ । गत वर्षदेखि एकअर्काका वस्तुमा लगातार उच्च कर लगाइँदै आएपछि बेइजिङ र वासिङ्टनबिचको तनावले विश्व बजारमा अनिश्चितता निम्त्याएको थियो ।

कुनै चरणमा दुवै देशका कर दर तीन अङ्कको स्तरमा पुगेका थिए, जसले द्विपक्षीय व्यापारलाई ठप्प पार्ने अवस्था ल्याएको थियो । हालैका महिनामा निर्यात नियन्त्रण, प्रविधि हस्तान्तरण र औद्योगिक नीतिजस्ता विषयमा उत्पन्न तनावका बिच दुवै देशका शीर्ष आर्थिक अधिकारीले वार्ताको माध्यमबाट असहज शान्ति कायम राखेका छन् ।

छुट्टै वक्तव्यमा, चीनले अमेरिकी कृषि उत्पादनमा लगाइएको ‘अतिरिक्त कर उपाय कार्यान्वयन गर्न अस्थायीरूपमा रोक लगाउने’ घोषणा गरेको छ । यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रण सम्बन्धी कठोर नीति अपनाउँदै अतिरिक्त कर दोब्बर बनाउने कदमको प्रतिक्रिया स्वरूप आएको हो । अब ती कर पुनः १० प्रतिशतमा झर्ने छन् ।

बेइजिङले विगतमा अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत र सोयाबिन, सुँगुरको मासु, गाईको मासु, दुग्ध तथा अन्य कृषि उत्पादनमा थप १० प्रतिशत शुल्क लगाएको थियो । ती कदमले विशेषतः अमेरिकी किसान-ट्रम्पको मुख्य राजनीतिक समर्थन आधार-लाई गम्भीर असर पारेको थियो ।

गत वर्ष मात्र अमेरिकी सोयाबिन निर्यातको आधाभन्दा बढी चीनमा गएका थिए, तर व्यापार विवाद तीव्र बन्दै गएपछि चीनले ती सबै अर्डर रद्द गरेको थियो । वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वको निर्यातमा लगाइएका प्रतिबन्ध पनि एक वर्षका लागि निलम्बन गर्न सहमति जनाएको छ । यी तत्व रक्षा उद्योग, विद्युतीय सवारी साधन र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणमा अत्यावश्यक मानिन्छन् र यस क्षेत्रमा चीनको वैश्विक प्रभुत्व रहेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार वासिङ्टनले पनि कालोसूचीमा परेका विदेशी कम्पनीका ५० प्रतिशत साझेदारी भएका सहायक कम्पनीमा लगाइने ‘एन्टिटी लिस्ट’ निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने सहमति जनाएको छ । अमेरिकी सरकारले चीनको जहाज निर्माण उद्योगमाथि लक्षित प्रतिबन्धात्मक उपाय पनि एक वर्षका लागि रोक्ने निर्णय गरेको छ ।

यससँगै दुवै पक्षले एकअर्काका जहाजमा लगाइँदै आएका पोर्ट शुल्क पनि निलम्बन गर्ने भएका छन् । अमेरिकाको पछिल्लो कदमपछि चीनले आफ्नो ‘प्रतिआक्रमणात्मक शुल्क नीति’ पनि एक वर्षका लागि स्थगित गर्ने घोषणा गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध सुधारतर्फ सकारात्मक सन्देश दिएको छ । – रासस/एएफपी

Published Date: 05 November 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी