काठमाडौं, कार्तिक १४ । फ्राइडे रिलिज अन्तर्गत आज कार्तिक १४ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘परान’ प्रदर्शनमा आएको छ ।
चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको हो ।
यसअघि यो फिल्मको गत बुधवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको थियो भने हिजो बिहीवार साँझ आयोजित प्रीमियर शोमा सेलिब्रिटी दर्शकको उच्च प्रसंशा पाएको थियो ।
दीपक प्रसाद आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको यो फिल्मले सार्वजनिक प्रदर्शनमा आउँदै गर्दा देशभर उत्साहजनक शो पाएको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले भावनात्मक पारिवारिक कथानक बोकेको छ ।
यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ । फिल्ममा नेपालका वरिष्ठ तथा सम्मानित
अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन् ।
त्यस्तै, फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन् ।
छायांकन (डिओपी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी। गुरुङले गरेका हुन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।
फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन् ।
Published Date: 31 October 2025