मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने

मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । बंगालको खाडीमा उत्पन्न भएको चक्रवात ‘मोन्था’को प्रभावले देशका पूर्वी र मध्य भूभागमा व्यापक वर्षा र हिमपातको सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार चक्रवात मोन्था मंगलबार राति भारतको आन्ध्र प्रदेशतर्फ प्रवेश गर्ने क्रममा उत्तरपश्चिम सर्दै नेपाल नजिक आइपुग्नेछ । यसै कारण बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिएको छ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदीहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्छ। महाभारत र चुरे क्षेत्रमा बग्ने ससाना नदीनालामा आकस्मिक बाढी आउने जोखिम पनि उच्च देखिएको छ।’

‘विशेष गरी, बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ,’ विभागको विज्ञप्तिमा छ ।

मौसमविद्हरूका अनुसार, बंगालको खाडी र अरब सागर दुवैतर्फ सक्रिय वायुमण्डलीय प्रणालीको संयुक्त प्रभावले देशभर वायु प्रवाह तीव्र बनेको छ। यसले विशेष गरी नेपालका पूर्वी भागमा वर्षाको तीव्रता बढाउने अनुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद् विनोद पोखरेलका अनुसार, ‘बुधवारसम्म हल्का वर्षा र पश्चिमी भेगमा पानी पर्ने सम्भावना छ भने बिहीबारदेखि शनिबारसम्म पूर्वी भूभागमा वर्षा र हिमपात दुवै हुने संकेत छ।’

यस क्रममा मधेस र कोशी प्रदेशका धेरै स्थानमा भारी वर्षा, बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा, साथै कोशी र बागमतीका उच्च पहाडी भूभागमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।

विभागले सम्भावित जोखिमका कारण नदी किनार, चुरे र महाभारत क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। वर्षा र हिमपातका कारण कृषि, यातायात, पर्यटन र पर्वतारोहण गतिविधि प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।

विभागका अनुसार मोन्था चक्रवातको गतिविधि निरन्तर अनुगमनमा राखिएको छ र आवश्यक परे थप विशेष बुलेटिन जारी गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न