सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न गृह मन्त्रालयको निर्देशन

सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न गृह मन्त्रालयको निर्देशन : Icon Khabar

काठमाडौं, असोज १८ । अविरल वर्षासँगै बढ्दो बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले जोखिममा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

शनिबार जारी निर्देशनमा मन्त्रालयले सबै जिल्लाका सिडिओहरूलाई विपद् व्यवस्थापनमा सक्रिय रहन, र राजमार्गमा रोकिएका यात्रु तथा सवारी साधनको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आह्वान गरेको हो ।

राजमार्गमा रोकिएका सवारी साधनहरूलाई सडक तथा मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन र यात्रुहरूका लागि स्थानीय तह तथा संघसंस्थासँगको समन्वयमा खानपानको व्यवस्था गर्न निर्देशन दिइएको छ।

एम्बुलेन्सलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने र बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ ।

यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानीय पालिकासँगको समन्वयमा विद्यालय वा सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि निर्देशन जारी गरिएको छ । सम्भावित विपद्को पूर्वतयारी र शीघ्र प्रतिकार्यमा सरकारी संयन्त्रलाई सक्रिय बनाउन गृहले यस्तो निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2025
Website | + posts