भक्तपुर, फागुन ६ । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको विभिन्न शिवालयहरुमा बिहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ। भक्तपुर को साँगामा अवस्थित कैलाशनाथ महादेव स्थान, भक्तपुरको डोलेश्वर महादेवको मन्दिर, भक्तपुर र काभ्रे जिल्लाको संगममा अवस्थित आशापुरी महादेवको मन्दिर, भक्तपुरको कमलविनायकमा अवस्थित यातु महादेव, भक्तपुर कै हनुमानघाट, अनि भक्तपुर दरबार क्षेत्रमा अवस्थित पशुपतिनाथको मन्दिर मा आज भक्तजनहरुको विशेष उपस्थिति रहेको छ।
डोलेश्वर महादेव
भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोलमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि भीड लागेको छ।

डोलेश्वर महादेव
काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ।

डोलेश्वर मन्दिर परिसरमा उपस्थित बाबाहरु
आशापुरी महादेव
आशापुरी महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अप्रभंश भई बोलीचालीमा आशापुरी हुन गएको इतिहास छ। यो मन्दिर भक्तपुर अनि काभ्रे जिल्लाको संगम मा रहेको छ । सो मन्दिर हाल सूर्यविनायक नगरपालिका–७ मा पर्ने आशापुरी महादेव मन्दिर भक्तपुर र काभ्रेको सिमानामा जगाती चोकबाट १० किमी दूरीमा पर्छ जहाँ जगाती चोकबाट सवारी साधनमा आधा घन्टामा पुग्न सकिन्छ।

आशापुरी महादेव
विशेषगरी मनले चिताएको इच्छाआकाङ्क्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती पाईन्छ।आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गरेको पाईन्छ र आजको दिन विशेष मेला लागेको छ।

आशापुरी महादेव मन्दिर परिसरमा रहेको कलात्मक ढुंगेधारा
कैलाशनाथ महादेवको मुर्ति
भक्तपुर जिल्लाको साँगामा अवस्थित यस कैलाशनाथ महादेवको मन्दिर विश्वकै दोस्रो अग्लो शिव मुर्तिको रुपमा चिनिन्छ। यो हाल पाँचौं अग्लो हिन्दू देवताको मुर्ति हो। मूर्ति १ सय ४३ फिट उचाइको छ र तामा, जस्ता, कंक्रीट र स्टिल प्रयोग गरेर बनाइएको छ। महाशिवरात्रिको आजको दिनमा यस मन्दिरमा पनि भक्तजनहरुको उत्साहजनक उपस्थिति रहेको छ।

कैलाशनाथ महादेवको मुर्ति
यातु महादेव मन्दिर
भक्तपुरको कमलविनायक बसपार्कबाट एक किलोमिटर पूर्वमै यो मन्दिर अवस्थित छ। यस मन्दिरलाई श्री निष्कलंकेश्वर महादेव को मन्दिर भनेर पनि चिनिन्छ। यातु महादेव मन्दिर परिसरमा पोखरी पनि छ। यो यस ठाउँको मुख्य आकर्षण मानिन्छ। पोखरी बीचमा नारायण देउताको मूर्ति रहेको छ। गेटबाट प्रवेश गरेपछि भने श्री निष्कलंकेश्वर महादेवको मन्दिर दर्शन गर्न पाईन्छ। आज यस मन्दिर परिसरमा भजन किर्तन गर्ने भक्तजन देखि विभिन्न ठाउँबाट दर्शनार्थी को उपस्थिति रहेको छ।

यातु महादेवको मन्दिर
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1