२ दिनको गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२ दिनको गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो : Icon Khabar

काठमाडौं, भदौ १६ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १२.०३ अंक बढेर २७६२.७४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ६८ हजार ७७५ पटकको कारोबारमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.६८ प्रतिशत घटेको छ। यस दिन विकाश हाइड्राेपावरकाे शेयरमूल्य करिब ५ प्रतिशत घटेकाे छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एभरेष्ट बैंकको करिब साढे २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको करिब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ। अरू उपसमूहकाे परिसूचक भने सामान्य बढेकाे छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सबैभन्दा बढी १.१५ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2025
Website | + posts