प्रधानमन्त्रीले आज कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिने

प्रधानमन्त्रीले आज कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिने : Icon Khabar

काठमाडौं, चैत १८ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एक सातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन् । सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ । राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ ।

कुलमानले पनि आफ्नो पुर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा हालेका छन् । अदालतले उनको रिट निवेदन सुनुवाइ गर्ने मंगलबारका लागि पेसी तोकेको छ । यसअघि आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तोकिए पनि हेर्न नमिल्ने जानकारी गराइएको थियो।

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्व साझेदार भएको कारण कुलमानको रिट ‘हेर्न नमिल्ने’ मा परेको हो । शाक्यको रिट पनि सोही इजलासमा परेको थियो । त्यसैले उक्त रिटमा पनि मंगलबार नै सुनुवाइ हुनेछ । शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन् ।

Published Date: 31 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड