आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्दै, उच्च सुरक्षा सतर्कता

आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्दै, उच्च सुरक्षा सतर्कता : Icon Khabar

काठमाडौँ, चैत १५ । आज (शुक्रबार) संघीय राजधानी काठमाडौँमा एक साथ दुई वटा प्रदर्शन हुँदैछन् । एउटा, गणतन्त्रवादीहरूको र अर्को राजावादीहरूको । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ । पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन् ।

यो गणतन्त्रवादीहरूका लागि ‘सह्य’ विषय छैन । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। तर, गणतन्त्रवादीहरूलाई राजावादीहरूले गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ‘काउन्टर’ दिन लागेका छन् । यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी संघसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।

राजावादीहरूले स्वयं पूर्वराजा शाहलाई नै सहभागी गराउने प्रयत्न गरेका छन् । त्यसकै लागि राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन् । उनीहरूले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दैछन् । गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन र आमसभा गर्दैछन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।

यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् । यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ। समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ । त्यसैले एउटालाई तीनकुने र अर्कोलाई भृकुटीमण्डप स्थान तोकिएको समितिले जनाएको छ। प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो ।

शुक्रवार काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ । पूर्वराजा पक्षीय दुर्गा प्रसाईहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथ बाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उच्च सतर्कताका साथ सुरक्षा योजना बनाइएको छ । त्यसअन्तर्गत उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ । प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए । वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन) का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए ।

Published Date: 28 March 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता