मधुवाला र दिलीप कुमारको अपूरो प्रेम

मधुवाला र दिलीप कुमारको अपूरो प्रेम : Icon Khabar

मुम्बई, फागुन २० । बलिउड फिल्म उद्योगमा मधुबाला एक त्यस्ती अभिनेत्री थिइन्, जसको सुन्दरतामा जो–कोहि पनि आकर्षित हुन्थे । मधुबाला भारतीय फिल्म उद्योगकी सबैभन्दा प्रतिभाशाली, बहु प्रतिभाशाली तथा सबैभन्दा सुन्दर अभिनेत्री भएको फिल्म ‘इन्डिया’ का सम्पादक बाबूराव पटेलको भनाइ थियो ।

उनलाई भारतीय फिल्म उद्योगकी ‘विनस’ भनिन्थ्यो । आफ्नो समयकी चर्चित अभिनेत्री बेगम पारा भन्थिन्– ‘कहिलेकाहिँ बिहानको समयमा जब उनी हिँड्न जान्थिन्, म मधुबालाको झल्को पाउँथें । उनको अनुहार हेर्ने बित्तिकै मेरो दिन राम्रो हुन्थ्यो ।’ निरुपा रोयलाई के विश्वास थियो भने ‘शरीरको टाउकोदेखि खुट्टासम्म उनी पूर्ण रूपमा निर्दोष थिइन् ।’

फिल्म ‘रेल का डिब्बा’ मा मधुबालासँग काम गरेका शम्मी कपूर मधुबालालाई देख्ने बित्तिकै आफ्नो संवाद नै बिर्सिन्थे । यो फिल्म सन् १९५३ मा बनेको थियो । प्रसिद्ध पत्रकार बिके करंजियाले आफ्नो आत्मकथा ‘काउन्टिङ माई ब्लेसिङ्स’ मा लेखेका छन्– ‘उनी जति सुन्दर थिइन्, कुनै पनि फोटोले उनको सौन्दर्यलाई न्याय गर्न सकेको छैन ।’

अभिनेता देव आनन्दलाई मधुबालाले खुलेर हाँसेको सबैभन्दा मन पर्ने कुरा भएको बताएका थिए । उनले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’ मा लेखेका छन्– ‘उनको अनुहार बिहानको शीत जस्तो सधैं ताजा हुन्थ्यो । उनी जुन बेला पनि खुल्ला मनले हाँस्न सक्थिन् ।’

‘महल’ फिल्मले मधुबालालाई राष्ट्रिय परिचय दिलायो । उनको वास्तविक नाम मुमताज जहाँ बेगम देहलवी थियो । उनको जन्म फेब्रुअरी १४, १९३३ मा दिल्लीमा भएको थियो ।

न्यूयोर्कको थिएटर आर्ट्स पत्रिकाले मधुबालाको बारेमा लेखेको थियो– ‘संसारकै सबैभन्दा ठूला स्टार, जो बेभर्ली हिल्समा बस्दिनन् ।’

हलिउडका निर्देशक फ्र्याङ्क काप्रा मधुबालालाई हलिवुडमा मौका दिन चाहन्थे, तर उनका पिता अताउल्लाह खानले ‘छुरी–काँटा चलाउन आउँदैन’ भन्ने कारण देखाएर त्यो प्रस्ताव अस्वीकार गरे । कतिपयले हलिउडका फिल्ममा अन्तरंग दृष्यमा अभिनय गर्नु पर्ने कुराका कारण पनि उनका बुवाले छोरीलाई त्यसका लागि अनुमित नदिएको उल्लेख गरेका छन् ।

मधुबाला र दिलीप कुमार प्रेममा थिए, तर उनका बुबाले उनीहरुको प्रेम सम्बन्ध स्वीकार गरेनन् । फिल्म ‘नयाँ दौर’ मा मधुबालाले नै अभिनय गर्ने थिइन् तर उनका बुबाले बम्बईबाहिर सुटिङ गर्न अनुमति नदिएका कारण बैजयन्ती मालाले उक्त फिल्ममा अभिनय गरिन् ।

दिलीप कुमारले आफ्नो आत्म कथा ‘द सब्स्टेन्स एण्ड द श्याडो’ मा उल्लेख गरेका छन् – ‘म जालमा फस्दैछु भन्ने महसुस गरेँ, त्यसैले मैले विवाह नगर्ने निर्णय गरेको छु ।’

मधुबाला बाल्यकालदेखि नै हृदय रोगबाट ग्रसित थिइन् । फिल्म ‘मुगल–ए–आजम’ को सुटिङमा उनले गर्मीमा भारी लुगा लगाएर उभिनु पर्यो, फलामको साङ्लोमा जकडिनु पर्यो, त्यति हुँदा–हुँदै पनि उनी सशक्त रूपमा प्रस्तुत भइन् ।

चिकित्सकहरूले मधुबालालाई थाक्ने काम नगर्न, नृत्य नगर्न र बच्चा नजन्माउन सल्लाह दिएका थिए । तर उनका बुबाले उनलाई लगातर फिल्महरुमा काम लगाइरहे ।

किशोर कुमारले मधुबालालाई उपचारका लागि लण्डन लगे, जहाँ चिकित्सकहरूले मधुबाला दश वर्षसम्म पनि बाँच्न सक्छिन् अथवा एक वर्षमा पनि उनको मृत्यु हुन सक्ने बताएका थिए ।

लण्डनबाट फर्किएपछि किशोर कुमारले मधुबालालाई ‘धेरै व्यस्त छु’ भन्दै घरमा त राखे, तर विरामी मधुबालालाई किशोर कुमारले आवश्यक साथ र समय दिन सकेनन् ।

बीके करंजिया भन्छन् – ‘मृत्युको अन्तिम दिनसम्म पनि मधुबाला सुन्दर नै देखेएकी थिइन् ।’ १९६९ फेब्रुअरी २३ मा ३६ वर्षकै उमेरमा मधुबालाले यो संसार छोडिन् ।

दिलीप कुमारले मधुबालाको मृत्युको खबर मद्रासमा भएको बेला सुनेका थिए । तर उनी मद्रासबाट मुम्बई आउने समयसम्म मधुबालाको अन्तिम संस्कार भइसकेको थियो । तर पनि दिलीप कुमारले अन्तिम संस्कार गरिएकै स्थानमा गएर उनलाई अन्तिम श्रद्धाञ्जली दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 March 2025
Website | + posts