रोशी खोलाको बाढीले तहसनहस भएको काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

रोशी खोलाको बाढीले तहसनहस भएको काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन : Icon Khabar

काभ्रेपलाञ्चोक, माघ १७ । रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभे्रपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो ।

सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नेछन् ।

समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि रहनेछन् ।

समितिले समस्या समाधानसहितको प्रतिवेदन तयार गर्ने र समितिको समयसीमा भने समिति आफैँले तोक्ने सांसद दाहालले बताए । असोज १०, ११ र १२ गते रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीका तीन स्थानीय तहको सिमाना अदलबदल भएको थियो । काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीच सिमानामा बाढीले समस्या भएको हो ।

दुई जिल्लाका तीन स्थानीय तहबीच विशेषगरी नेपालथोक क्षेत्रमा समस्या देखिएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले जानकारी दिए । उनले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने बताए ।

यसैबीच गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोला क्षेत्रको सीमांकन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमांकन सकिएको जनाइएको छ ।

बाढीपहिरोले खोलाको सीमांकनसँगै व्यक्तिको घर तथा जमिनमा क्षति पुगेपछि समस्या समाधानका लागि पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रुपमा उक्त कार्य गरेका हुन् ।

नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सीमांकन सकिएको जानकारी दिए । त्यस क्रममा व्यक्तिले भोगचलन गरिरहेका करिब ७० कित्ता जग्गाको पहिचान गरिएको उनल् बताए । – रासस

Published Date: 30 January 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु