नेपाल पुनर्बीमा कम्पनी हकप्रद निष्काशन गरेर पूँजी बढाउने तयारीमा

नेपाल पुनर्बीमा कम्पनी हकप्रद निष्काशन गरेर पूँजी बढाउने तयारीमा : Icon Khabar

काठमाडौँ, माघ २५ । नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन गरेर पूँजी बढाउने योजना बनाएको छ । जोखिमको मात्रा बढेको भन्दै कम्पनीले हकप्रद निष्काशन गरेरै भएपनि पूँजी बढाउने योजना बनाउन थालेको हो ।

नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

हाल कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेपछि हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

हालको पूँजी पर्याप्त नभएको र जोखिम मापनको आधारमा कम्पनीको पूँजी बढाउनु पर्ने आवश्यक रहेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीको भनाई छ ।

‘ग्लोवल वार्मिङ र क्लाइमेट चेञ्जले गर्दा जोखिमको मात्रा बढीरहेको छ । जोखिम मापनको आधारमा कम्पनीको पूँजी बढाउनु आवश्यक छ,’ पुनर्बीमा कम्पनीका सिइओ रायमाझीले भने, ‘नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी न्युनतम २५ अर्ब रुपैयाँ हुनु पर्छ भने मेरो व्यक्तिगत धारण छ ।’

‘कम्पनीको चुक्ता पूँजी तत्काल २५ अर्ब रुपैयाँ पुर्याउनु पर्छ । त्यो कम्पनीले वितरण गर्ने लाभांशले मात्रै संम्भव छैन्,’ उनले भने, हकप्रद शेयर जारी गरेरे पूँजी पुर्याउनु पर्ने हुन्छ ।

हाल कम्पनीमा ४४.०३९ प्रतिशत नेपाल सरकारको, ३९.९६१ प्रतिशत बीमा तथा अन्य कम्पनीहरुको र १६ प्रतिशत सर्वसाधारण शेयरधनीहरु (कर्मचारीहरु सहित) को शेयर स्वामित्व रहेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकमा हकप्रद निष्काशन गरेर पूँजी जुटाउने सम्बन्धी छलफल भएकाे एक सञ्चालकले जानकारी गराए। हकप्रद निष्काशन गरेर पूँजी बढाउने निर्णय छिटै हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts