रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि : Icon Khabar

काठमाडौँ, साउन २८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा ग्लोबल टि ट्वान्टी लिगको चौथो संस्करणको च्याम्पियन भएको छ ।

डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्समाथि सोमबार ८ विकेटको जितका साथ टोरोन्टोले उपाधि जितेको हो । फाइनल खेलमा रोहित भने बेन्चमा रहेका थिए ।

टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोको जितमा आन्द्रेस गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । उनले ४९ बलमा ८ चौका प्रहार गरेका थिए ।
रासी भान डर डुसेनले ३४ बलमा अविजित ३० रन बनाए । टाइगर्सका लागि क्रेरबिन बोस र अजमतुल्लाह उमरजाईले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५, जसकरण सिंहले १६ तथा अनुप रविले १० रन जोडे । टोरोन्टोका लागि जेसन बेहरेनड्राफ्टले ३, रोमारियो शेफर्डले २ तथा जुनैद सिद्धिकी, मोहम्मद नवाज, निखिल दत्त र जितेन्द्रपाल माथरुले समान १ विकेट लिए ।

ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटर आबद्ध भएको टिम च्याम्पियन भएको यो तेस्रो पटक हो । यसअघि सन् २०१९ को दोस्रो संस्करणमा नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेक्स हव्स च्याम्पियन भएको थियो । २०२३ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्स च्याम्पियन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts