वर्षाका कारण देशभरीका विमानस्थलहरुको उडान तथा अवतरण प्रभावित

वर्षाका कारण देशभरीका विमानस्थलहरुको उडान तथा अवतरण प्रभावित : Icon Khabar

काठमाडौं, साउन २२ । सोमबार रातिदेखि नै परिरहेको अविरल वर्षा मंगलबार बिहानसम्म पनि जारी रहेपछि देशभरीका विमानस्थलहरुको उडान तथा अवतरण प्रभावित भएको छ ।

खासगरि, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भैरहेको छ । अविरल वर्षा तथा पहाडी क्षेत्रमा बाक्लो हुस्सुका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानहरुको उडान तथा अवतरणमा समस्या भएको हो ।

अहिले बिहान १०ः३० बजेको समयमा यो सामग्री तयार पारिरहँदा कतारबाट काठमाडौं आइरहेको कतार एयरवेज, नयाँ दिल्लीबाट काठमाडौं आइरहेको भिस्तारा एयर, दिल्लीबाट काठमाडौं आइरहेको इन्डिगो (ओभरसूटसहित), सहित विभिन्न आन्तरिक विमानहरु होल्डमा परेका छन् । भरखरैमात्र भद्रपुरबाट काठमाडौं आइपु्गेको बुद्ध एयरको विमानले पनि ओभरसूट गरेको छ ।

अविरल वर्षाकै कारण आज बिहानैदेखि त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानहरुले अवतरण गर्ने क्रममा ओभरसूट गर्नु परिरहेको विमानस्थल स्रोतले जनाएको छ । भारतबाट आएको इन्डिगो तथा भैरहवाबाट आएको बुद्ध एयरको विमानले केहीअघि ओभरसूट गरेर अहिले होल्डमा छन् । अहिले पनि केही विमानहरु निजगढको आकाशमा होल्डमा छन् भने केही विमानहरुलाई अन्यत्र डाइभर्ट गरिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवत्ता सुवास झाका अनुसार वर्षाकै कारण केही विमानको अवतरणमा समस्या भएको हो । उनले केही विमानहरुले ओभरसूट गरेको पुष्टि गरेका छन् । विमानस्थलमा अवतरण हुनै लाग्दा मौसममा खराबी आएपछि विमानले पुनः उडान गर्ने कार्यलाई ओभरसूट भनिन्छ ।

अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको थियो । बीचमा भिजिबिलिटी पर्याप्त भए पनि साढे दश बजेको समयमा पुनः एक हजार भन्दा कम भएको विमानस्थल स्रोतको भनाइ छ ।

आज बिहान इस्तानाबुलबाट काठमाडौं आइरहेको टर्किस एयरको विमान डाइभर्ट भएको छ भने फ्लाइ दुबई तथा ड्रक एयर होल्डमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2024
Website | + posts